
हरि शर्मा (इमेज)
नवलपरासी, असार ९ । पदाधिकारी र सदस्य चयनमा विवाद भएपछि तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम महाधिवेशन केन्द्रीय समितिको टुंगो नै नलगाइ विहीबार सकिएको छ ।
विवादित पदको टुंगो लगाउन नवनिर्वाचित अध्यक्ष महन्थ ठाकुरसहित तीनजनालाई जिम्मेवारी दिइएको छ । जसमा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी र उपाध्यक्ष बृजेशलाल दास छन् । उनीहरु अध्यक्षसँगै निर्विरोध भएका हुन् ।
त्यस्तै, कोषाध्यक्षमा अनिता यादव निर्विरोध निर्वाचित भएकी छन् ।
केन्द्रीय समिति चयन हुन नसके पनि विधान संशोधन मस्यौदा, राजनीतिक प्रतिवदेन र नीति तथा कार्यक्रम भने बन्दसत्रले पारित भएको छ ।
निर्विरोध नेतृत्व चयनका लागि नेताहरु बुधबार रातिसम्म कसरतमा लागे पनि उम्मेदवारहरुले आफ्ना अडान नछाडेपछि सहमति हुन नसकेको हो ।
निर्वाचनमा दुई महामन्त्रीका लागि चार र दुई सहमहामन्त्रीका लागि १० जनाको उम्मेदवारी परेको थियो ।
त्यस्तै, आरक्षिततर्फ चार मुस्लिममा १३, पाँचजना महिलामा २२, तीन दलितमा १२ जनाको उम्मेदवारी परेको थियो ।
३१ जना खुलातर्फको केन्द्रीय सदस्यका लागि ४७ जनाको उम्मेदवारी परेको थियो ।
प्रतिक्रिया दिनुहोस्