काठमाडौं, असार १० । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी संरचनामा आफ्नो पक्षको ४५ प्रतिशत हिस्सा दाबी गर्न थालेपछि सभापति शेरबहादुर देउवा अप्ठ्यारामा पर्न थालेका छन् ।
संसदीय दलको कार्यसमितिका सदस्य र दल अन्तर्गत रहने संसदीय समितिका संयोजक प्रस्ताव गर्दा पौडेलले ४५ प्रतिशत हिस्सा मागेका हुन् ।
भागवण्डाका विषयमा कुरा नमिल्दा दुई नेताबीच भनाभन समेत भएको थियो । स्रोतका अनुसार बिहीबार गठन भएको दल अन्तर्गतको १२ संसदीय समितिमा पौडेलले न्यूनतम ५ संयोजक माग गरेपछि दुई नेताबीच विवाद भएको हो ।
संसदीय दलको कार्यसमिति सदस्यमा समेत पौडेलले ४५ प्रतिशतको हिस्सा पाउनुपर्ने लिखित नै माग गरेका थिए ।
देउवाले १२ समितिका संयोजकमध्ये पौडेल पक्षका तीनजनाको नाम मात्रै प्रस्ताव गरेका थिए । संसदीय दलको कार्यसमितिमा विवाद भएपछि पौडेल पक्षका दुईजना थप गरी ५ जनालाई संयोजक दिन देउवा तयार भएका हुन् ।
देउवा पक्षीय सदस्यहरुले भने पार्टीको १३ औं महाधिवेशनमा भागवण्डाको अन्त्य गर्ने नारा दिएर चुनाव लडेका नेताबाटै ४५ प्रतिशतको भाग खोज्न नमिल्ने भन्दै पौडेलको आलोचना गरेका थिए । –कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्