
काठमाडौं, असार १० । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिको आकांक्षा निष्कृयताबाट प्राप्त नहुने बताएका छन् । उनले यसका लागि सबैजना सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल उद्योग परिसंघले शुक्रबार राजधानीमा गरेको ‘नेपाल निर्माण’ कार्यक्रम सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक अधिकार प्राप्तिको समय समाप्त भइसकेकोले अब भने विकासमा केन्द्रित हुनुपर्ने बताए ।
ओलीले हाल १ प्रतिशतभन्दा कम आर्थिक बृद्धिदर रहेको अवस्थामा पनि आगामी बजेटमा ६ प्रतिशतभन्दा बढीको अपेक्षा राख्नुले सरकार विकासका लागि पूर्णसकारात्मक रहेको संकेत गर्ने बताए ।
उनले हालको अवस्थामा नेपालको व्यापारघाटा सन्तुलनमा ल्याउन उत्पादकत्वमा बृद्धि गरी आत्मनिर्भर हुनुपर्ने बताए ।
उनले आगामी दिनमा ठूला एवं उच्च क्रयशक्ति भएका छिमेकीलाई आफ्नो उत्पादन निर्यात् गरी व्यापार सन्तुलनमा ल्याउन सकिने विश्वास व्यक्त गरे ।
ओलीले नेपालमा लगानीको लागि अनेकौं क्षेत्रहरु रहेकाले व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे ।
उनले लगानीको प्रक्रिया सरल बनाउन एवं कानुनी र व्यवहारिक जटिलता हटाउन व्यवसायीहरुलाई आवश्यक सुझाव दिन पनि आग्रह गरे ।
परिसंघका अध्यक्ष हरिभक्त शर्माले राजनीतिक अजेन्डाले महत्व पाउँदै गरेको अवस्थामा विकासका अजेन्डालाई अगाडि ल्याउन कार्यक्रम आयोजना गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्