४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


ताप्लेजुङमा १० प्रतिशत मात्र रोपाईं, कञ्चनपुरमा चटारो


0
Shares

ताप्लेजुङ/कञ्चनपुर, असार ११ । कामदारको अभावमा असारको दोस्रो सात बितिसक्न लाग्दा ताप्लेजुङमा भने दश प्रतिशत मात्र रोपाई भएको छ ।

बैशाख र जेठ भर पनि पर्याप्त बर्षा नभएका कारण मुल नफुटेको र असार शुरु भएपछि मात्र भएको वर्षाका कारण हालसम्म दश प्रतिशत क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।

अघिल्लो वर्ष बैशाख जेठमा नै वर्षा हुँदा मुल फुटेकाले यो समयसम्म ४० प्रतिशत क्षेत्रफलमा रोपाई भईसकेको कृषि विकास कार्यालय ताप्लेजुङका योजना अधिकृत विसुनदेव यादवले जानकारी दिए ।

यता जिल्लाका कृषकले भने पर्याप्त वर्षा नहुनु मात्र नभई कामदार अभावका कारण पनि रोपाई ढिला भएको बताएका छन् ।

अधिकांश युवाले बैदेशिक रोजगारी र अध्ययनका लागि गाउँ छाडेकाले काम गर्ने कामदारको अभाव भएको हो । ताप्लेजुङमा दश हजार ९ सय ९० हेक्टर क्षेत्रफलमा रोपाई हुनेगर्छ ।

उता, मनसुनी वर्षा सुरु भएसँगै कञ्चनपुरमा रोपाईंको चटारो बढेको छ । किसानहरु विहानदेखि साँझसम्म धान रोपाई गर्नमै ब्यस्त छन् ।

समयमै मनसुन सुरु भएपछि सिंचाई सुविधा नभएका स्थानमा समेत रोपाईं सुरु भएको छ । जिल्लाका ग्रामिण क्षेत्रका अधिकांस भागमा अहिले पनि परम्परागत शैलीमा गोरुले नै रोपाई गर्ने गरिन्छ भने आधुनिक कृषि यन्त्रको प्रयोग पनि बढ्दो क्रममा छ ।

कञ्चनपुरमा कुल ४८ हजार ७ सय ९६ हेक्टर क्षेत्रफलमा धान रोपाई गरिन्छ । जसमध्ये करिव ११ हजार हेक्टर क्षेत्रफलमा मात्र महाकाली सिंचाई आयोजनाको नहरबाट सिंचाइ गरिन्छ ।

जिल्लाका विभिन्न क्षेत्रमा डिप ट्युवेलको माध्यमबाट पनि सिंचाई गरिन्छ भने करिव ८ हजार हेक्टर क्षेत्रफलमा आकासे पानीकै भरमा खेती गर्नुपर्ने अवस्था छ ।

कृषि विकास कार्यालय कञ्चनपुको तथ्यांक अनुसार गत वर्ष कञ्चनपुरमा १ लाख ४९ हजार मेट्रिक टन धानको उत्पादन भएको थियो ।