
काठमाडौं, असार १२ । संशोधन हुन लागेको खाद्य ऐन, २०२३ मा सुर्तीजन्य, सौन्दर्य प्रशाधन र औषधी बाहेक अरु सबै बस्तुलाई खाद्य बस्तुको परिभाषामा ल्याउन लागिएको छ ।
ऐन संशोधन सम्बन्धी नेपाल उद्योग वाणिज्य महासंघले आइतबार गरेको उद्योगी व्यवसायीसँगको छलफलमा खाद्य बस्तुको नयाँ परिभाषा गर्न लागिएको जानकारी गराइएको हो ।
संशोधन हुने खाद्य ऐनमा दण्ड सजायको जरिवाना समयसापेक्ष १० देखि २० गुणासम्म बढाउन प्रस्ताव गरिएको छ ।
छलफलमा व्यवसायीहरुले खाद्य ऐनको प्रस्तावनामा सुधार आवश्यक रहेको बताएका छन् । उनीहरुले ऐनको प्रस्तावना सकारात्मक हुनुपर्नेमा जोड दिए ।
ऐनको प्रस्तावना नै व्यवसायीहरु खत्तम हुन्, कारबाही गरेरमात्रै तह लगाउन सकिन्छ भन्ने मनसायको रहेको भन्दै त्यसमा सुधार्न उनीहरुले सुझाव दिएका छन् ।
उनीहरुले विदेशी खाद्य ऐनको प्रस्तावना अध्ययन गरी सकारात्मक बनाउन आग्रह गरेका छन् ।
ऐनको प्रस्तावनामा खाद्य श्रृंखलामा खाद्य स्वच्छता कायम गर्ने र खाद्य व्यापारमा सहजीकरण गर्ने वाक्यांशहरु थप गरेको जनाइएको छ । यस्तै, खाद्य पदार्थ आयात निर्यात नियमन तथा गुण प्रमाणिकरण गर्ने व्यवस्था राखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्