४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


इमाडोलको ग्यास भन्डारण गर्ने तयारी, उपत्यकाका ‘१४ ठाउँमा मिथेन ग्यास’


0
Shares

काठमाडौं, असार १३ । खानी तथा भूगर्भ विभागले इमाडोलमा रहेको मिथेन ग्यासलाई भन्डारण गर्ने तयारी गरेको छ ।

विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार ग्यास भन्डारण गर्नका लागि विभागले समिति गठनको प्रक्रिया अगाडि बढाइसकेको छ ।

भारतीय नाकाबन्दीसँगै सरकारले उपत्यकामा रहेको मिथेन ग्यासलाई प्रयोगमा ल्याउने चर्चा चलेको थियो ।

‘इमाडोलस्थित खरिबोट क्षेत्रमा कुवामा रहेको ग्यासलाई भन्डार गर्न केही दिनमा नै ‘नमुना ग्यास प्लान्ट’ बनाउने तयारी थालिने छ’–श्रेष्ठले भने–‘हप्तादिनभित्रमा प्लान्टको काम सुरु गर्छौं ।’

ग्यास भन्डारण गर्नका लागि विभागले इमाडोलमा नयाँ इनारसमेत खनेको छ । पुरानो भत्किएकाले नयाँ इनार खनिएको हो ।

विभागले ग्यास रहेको इनारलाई तारबारले घेरेर एकजना पालेसमेत राखेको छ ।

ग्यास भन्डारणका लागि आवश्यक सामान विदेशबाट आयत् गर्ने प्रक्रियासमेत विभागले थालेको छ ।

ग्यासको भन्डारण मात्रा र खर्च हेरेर अन्य ठाउँमा रहेको ग्यासलाई पनि भन्डारण गर्ने योजना रहेको श्रेष्ठको भनाइ छ ।

‘अहिले कति ग्यास भन्डारण गर्न सकिन्छ । त्यो हेर्छौं’–उनले भने–‘पर्याप्त मात्रामा पुग्ने भएपछि अन्य ठाउँको ग्यास भन्डारण गर्छौं ।’

उपत्यकाका विभिन्न १४ ठाउँमा मिथेन ग्यास रहेको पाइएको छ ।

यसअघि सरकारले सन् १९८२ मा टेकुमा रहेको मिथेन ग्यासलाई प्लान्ट बनाइ प्रयोगमा ल्याएको थियो । रासस