४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


बेलायती निर्णयको नेपालमा खासै प्रभाव पर्दैन : अर्थविद् प्याकुर्‍याल


0
Shares

काठमाडौं, असार १३ । युरोपियन युनियनबाट अलग हुने बेलायती निर्णयको प्रभावबारे विभिन्न कोणबाट चर्चा गरिँदै आएको छ । यसले नेपाली अर्थतन्त्रमा पर्ने प्रभावबारे पनि बहस सुरु भएको छ ।

अर्थविद् डा. विश्वम्भर प्याकुर्‍याल भने नेपालको अर्थतन्त्रमा तात्विक भिन्नता नआउने बताउँछन् ।

तत्कालका लागि विनिमयदरका कारण पाउन्डको भाउ घट्दा थोरै असर परेपनि दीर्घकालका लागि भने नेपाली अर्थतन्त्रमा खासै प्रतिकूल प्रभाव नरहने उनको विश्लेषण छ ।

झन्डै १ लाख नेपाली बेलायतमा रहेर व्यापार–व्यवसाय र अरु रोजगारी गर्दै आइरहेका छन् ।

पाउन्डको अवमूल्यनले यी नेपालीको कमाइको मूल्य भने केही समयलाई घटेको छ । बेलायतमा काम गरेर नेपाल पठाउने रकमको मूल्य पनि घट्न सक्छ ।

तर, योपनि लामो समयसम्म नरहने प्याकुर्‍यालको तर्क छ ।

आन्तरिक संयन्त्र चुस्त रहेको बेलायत आर्थिक स्थायित्व कायम गर्न सफल रहने अर्थविद् प्याकुर्‍यालको विश्वास छ ।

इयु र बेलायतबाट नेपालाई प्राप्त हुने सहयोगमा पनि कुनै फरक नपर्ने उनको  विश्लेषण छ ।

‘फरक यत्ति हो अब बेलायत र इयुसँग व्यापार, सहयोग आदिका लागि छुट्टा–छुट्टै द्विपक्षीय सम्झौता गर्नुपर्ने हुन्छ’–सोमबार उनले हामीसँग कुरा गर्दै भने ।