
मुस्ताङ, असार १४ । पेट्रोलियम पदार्थ र नुनखानीको अध्ययन गर्न सरकारी टोली मुस्ताङ पुगेको छ ।
उद्योगमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा खानी तथा भू–गर्भ विभाग, घरेलु तथा साना उद्योग र प्राविधिकसहित २२ जनाको टोली सोमबार मुस्ताङ आइपुगेको हो । टोलीले मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको विस्तृत् अध्ययन गरेको छ ।
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पानीमाथि अनवरतरुपमा बल्ने आगो ग्यास हुनसक्ने टोलीमा सहभागी खानी तथा भू–गर्भ विभागका प्रमुख राजन पौडेलले जानकारी दिए ।
‘यहाँको अवस्था हेर्दा उत्खनन्का लागि त्यति असजिलो छैन्, सरकारले विशेष पहल गर्दैछ’–उनले भने ।
मुक्तिनाथको मुख्य मन्दिरभित्र भूमिगत् कागखोलामा निरन्तर आगो बलिरहेको देखिन्छ भने त्यसबाट केही मात्रामा पेट्रोलियम पदार्थको गन्ध पनि आउने गरेको स्थानीयबासीको भनाइ छ ।
टोलीले मुक्तिनाथपछि छुसाङ गाविसको तेताङमापर्ने नुनखानीकोसमेत अवलोकन गर्नेछ ।
नुनको पहाडै रहेपनि त्यसको उत्खनन् हुन नसक्दा वर्षौंदेखि त्यतिकै खेरगइरहेको छ । नुनखानी सन्चालनका विषयमा स्थानीयबासीसँगसमेत छलफल हुने बताइएको छ ।
पौडेलकाअनुसार टोलीले लोमान्थाङ क्षेत्रमा युरेनियम र जोमसोमस्थित ठिनी गाउँमा रहेको कोइलाखानीकोसमेत अनुसन्धान गर्नेछ ।
लोमान्थाङ क्षेत्रको १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइमा युरेनियमको भन्डार रहेको बताइएको छ ।
मन्त्री पाण्डेले यी सबै विषयमा स्थलगत् अध्ययन गरेर उत्खनन्का लागि प्रक्रिया अघि बढाइने जानकारी दिए ।
‘हामी अध्ययनकोक्रममा छौं, अबको तीन वर्षभित्र ग्यास, नुन र अन्य खानीको उत्खनन् गरेर प्रयोगमा ल्याउँछौं’–उनले भने । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्