काठमाडौं, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माण र अफगानिस्तान घटनाका विषयमा व्यवस्थापिका–संसदमा सम्बोधन गर्ने भएका छन् ।
बुधबार (आज) दिउँसो २ बजे बस्ने सदनको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उपप्रधानमन्त्री भीम रावलले सन्चारकर्मीलाई जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग भूकम्पपीडित जनताई आवास निर्माण गर्न एकमुष्टरुपमा रु दुई लाख र दुई प्रतिशत ब्याजदरमा रु १५ र २५ लाख दिनुपर्ने मागका विषयमा सहमति भएपछि अवरुद्ध सदन सुचारु हुन लागेको हो ।
सो माग पूरा गराउन नेकाले सदन अवरुद्ध गराउँदै आएको छ । बुधबार बिहान ११ बजे बस्ने कार्यतालिका रहेको बैठक विशेष कारण बुधबारै दिउँसो २ बजेसम्मका लागि सूचना टाँस गरी स्थगन भएको थियो ।
प्रमुख प्रतिपक्षी दलको सो मागका सम्बन्धमा गठित कार्यदलको बैठकमा भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्टरुपमा रु एक लाख ५० हजार दिने र रु ५० हजार किस्ताबन्दीमा दिने सहमति भएको उपप्रधानमन्त्री रावलले जानकारी दिए ।
प्रधानमन्त्री केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकाका सभापति शेरबहादुर देउवासहित कार्यदलको बैठक बसेको थियो ।
कार्यदलमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट पूर्वमन्त्री कृष्णप्रसाद सिटौला, कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महत, कांग्रेस संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ रहेका छन् ।
यसैगरी, सत्तारुढ दलका तर्फबाट उपप्रधानमन्त्री भीम रावल, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका नेता दिलनाथ गिरी रहेका थिए । रासस
फाइल फोटो










प्रतिक्रिया दिनुहोस्