Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


मुस्ताङमा ‘नुनखानीको ठूलो क्षेत्र छ’, नुनखानी तत्काल सन्चालन गर्न माग


0
Shares

मुस्ताङ, असार १५ । मुस्ताङको छुसाङ गाविसस्थित तेताङमा रहेको नुनखानी तत्काल सन्चालन गर्न स्थानीयबासीले माग गरेका छन् ।

पेट्रोलियम पदार्थ, नुनखानी र युरेनियम अध्ययन गर्न मुस्ताङ आएका उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वको सरकारी टोलीसँग स्थानीयबासीले २० वर्षअघि बन्द भएको नुनखानी तत्काल सन्चालन गर्न माग गरेका हुन् ।

नुनखानीको पहाडै देखिएपनि उत्खनन् हुन नसक्दा आयातीत नुन खानुपरेकाले तत्काल प्रक्रिया अघि बढाउनुपर्ने स्थानीयबासी धर्म गुरुङले बताए ।

‘पहिला यही क्षेत्रकै एकजनाले उत्खनन्को काम गर्नुहुन्थ्यो, उहाँ बुढो भएपछि यो काम बन्द भएको हो’–उनले भने–‘भौगोलिकरुपमा अलि जटिल भएकाले दक्ष जनशक्ति नहुँदा समस्या भयो ।’

नुनखानी जान तेताङ गाउँको बीचमा कालीगन्डकी रहेका कारण बर्खायाममा अलि बढी समस्या हुने स्थानीयबासीको भनाइ छ ।

विगतमा उत्खनन् हुँदा तेताङको नुन मुस्ताङ जिल्लाका अतिरिक्त म्याग्दी, बाग्लुङ र कास्कीसम्म जाने गरेको स्थानीयबासी झोङबा गुरुङले बताए ।

‘हामीले यहाँबाट टुकुचे लैजान्थ्यौं, त्यहाँबाट विभिन्न जिल्लामा व्यापार हुन्थ्यो’–उनले भने ।

खानी तथा भू–गर्भ विभागका वरिष्ठ भू–गर्भविद् धर्मराज खड्काले परम्परागतरुपमा विगतमा नुनको उत्खनन् भएपनि त्यसलाई आधुनिक तरिकाले गर्न सम्भव रहेको बताए ।

‘नुनखानीको ठूलो क्षेत्र छ, खोलाले बगाएर ल्याउने भएकाले स्थानीयबासीले पोखरी बनाएर उत्पादन गर्ने गरेको पाएका छौं’–उनले भने–‘त्यसरी उनीहरुले पाँच हजारदेखि सात हजार केजीसम्म नुन निकाल्थे, योभन्दा थुप्रै बढी निकाल्न सकिन्छ ।’

टोलीले यसअघि मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको विषयमा जानकारी लिएको थियो ।

टोलीमा सहभागी खानी तथा भू–गर्भ विभागका प्रमुख राजन पौडेलले २२ जना सम्मिलित टोलीले लोमान्थाङमा युरेनियम र जोमसोमको ठिनी गाउँमा कोइलाखानीकोसमेत अध्ययन गर्ने बताए । रासस
फाइल फोटो