४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


म्यानपावर व्यवसायी आक्रोशित


0
Shares

काठमाडौं, असार १६ । वैदेशिक रोजगारी व्यवसायी संघले मलेसिया भ्रमणकाक्रममा मलेसियाका श्रममन्त्रीसँगको बैठकमा संघलाई सहभागी नगराएकोप्रति आपत्ति जनाएको छ ।

संघले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी श्रममन्त्री दीपक बोहराको नेतृत्वमा मलेसिया भ्रमणमा गएको संघका प्रतिनिधिलाई नियतबस् बैठकमा बस्न नदिएर क्वालालम्पुरस्थित नेपाली दूतावासबाट दुःखदरुपमा फर्कनुपरेको जनाएको हो ।

श्रममन्त्रीसँगको टोलीमा संघका तर्फबाट अध्यक्ष विमल ढकाल, महासचिव रोहन गुरुङ, पूर्वअध्यक्ष तिलकबहादुर रानाभाट र अरु दुई व्यवसायी थिए ।

अध्यक्ष ढकालले नेपाली कामदारका पक्षमा आफूहरुले छलफल गर्नुपर्ने विभिन्न राय पेस गरेसँगै सरकारी अधिकारी र मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमान सिंह बस्नेतले आफूहरुलाई नियतबस् बैठकमा सहभागी नगराएको आरोप लगाए ।

मलेसियामा नेपाली कामदारको अवस्था खराब रहेको र यस क्षेत्रका विकृति–विसंगतिलाई समाधान गर्न सरकारका जिम्मेदार अधिकारीहरुसँग बारम्बार आग्रह गर्दा पनि ‘कमिसनमा बिकेर सुनुवाइ नभएको’ पनि संघको आरोप छ ।

भीएलएन नेपाल, आइसीएसजस्ता विभिन्न संस्था खोलेर र बायोमेट्रिक मेडिकलका नाममा मलेसिया जाने नेपाली कामदारमाथि अनावश्यक आर्थिकभार थोपरेर नेपाली युवामाथि ठगिँदै गरेको आरोप पनि संघको छ ।