Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


नेविसंघभित्रको विवाद नमिलाए अनशन बस्ने चेतावनी


0
Shares

काठमाडौं, असार १७ । नेपाल विद्यार्थी सङ्घका केही नेताले सङ्घभित्र देखिएका विवाद मिलाएर अधिवेशन गर्न नेतृत्वसँग माग गर्दै विवाद नमिलाएमा अनशन बस्ने चेतावनी दिएका छन् ।

उनीहरुले ‘नेविसङ्घको ११ औँ महाधिवेशनका चुनौती’ विषयक बहस कार्यक्रममा महाधिवेशन औपचारिकतामा मात्र सीमित गर्न लागिएको तर्फ सचेत गराएका थिए । उनीहरुले विधिवत् रुपमा अधिवेशन नगरे आमरण अनशन बस्ने चेतावनी दिए ।

बिहीबार राजधानीमा आयोजित सो कार्यक्रममा नेविसङ्घका पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्लेले भागवन्डामा महाधिवेशनका पदाधिकारी मनोनय गर्ने प्रथा अन्त्य गर्नुपर्ने बताए । विधिवत् अधिवेशन गरेर प्रतिनिधि छान्नुपर्नेमा जोड दिदैं उनले सात दिनभित्र विधिवत् महाधिवेशनको प्रक्रिया अगाडि नबढाए अनशन बस्ने चेतावनी दिए ।

नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटाले विवाद समाधान कार्यदलले अहिलेसम्म काम गर्न नसक्दा समयमा नै अधिवेशन हुन्छ कि हुँदैन भन्ने आशङ्का उब्जिरहेको बताए । नेविसङ्घका केन्द्रीय सदस्य जित शेरचन, युवराज पाण्डे, बलदेव तिमल्सेना, तुलसा पन्त लगायतले महाधिवेशनको मिति तोक्नुभन्दा पनि विवादित समस्या समाधानमा वर्तमान नेतृत्व लाग्नुपर्ने बताए । विवाद समाधान नभई महाधिवेशन गर्नुको अर्थ नरहने उनीहरुको भनाइ थियो ।