
यादव आचार्य (इमेज)
बर्दिया, असार १७ । बर्दियाका एक युवाले राम्रो कमाइका लागि विदेश नै जानुपर्छ भन्ने अधिकांश नेपाली युवाको मानसिकतालाई गलत सावित गरिदिएका छन् ।
उनले आफ्नै गाउ‘मा कृषिउद्यम गरेर लाखौं रुपैयाँ आम्दानीमात्र गरेका छैनन्, पाँचजनालाई रोजगारीसमेत दिएका छन् ।
बर्दियाको गुलरियास्थित सुहेलवाका टोपलाल बिकलाई केराको बेर्ना उमार्न भ्याइनभ्याइ छ ।
रोजगारीका लागि विदेश गएर थाकेका उनी स्वदेशमै मिहेनत गर्नसके चाहेजस्तो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।
केही वर्षअघिसम्म तरकारी व्यवसायमा रमाएका उनी अहिले केराखेतीमा व्यस्त छन् । उनलाई साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाले ‘ग्रीनहाउस’ निर्माण गर्न सघाएको छ ।
उनले उत्पादन गरेका केराका बेर्ना बर्दिया, दाङ, प्यूठान, पोखरा, सल्यान, कैलाली, कन्चनपुरलगायतका जिल्लामासमेत निर्यात् हुने गरेको छ ।
ऋण तिर्दैमा ठिक्क हुने विदेशको कमाइभन्दा परिवारसँगै बसेर छोराछोरी राम्रो स्कुलमा पढाउन पाउँदा विक खुसी छन् ।
दुईकठ्ठा जग्गामा बिकले फर्म बनाएर केराका बेर्ना उत्पादन गरिरहेका छन् । उनले वर्षेनि ‘जी–नाइन’ र ‘विलियम हाइब्रिड’ जातको केराका ५० हजार बेर्ना बेच्छन् ।
१६ लाख रुपैयाँ लगानी गरेक बिकलाई साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाले थप १६ लाख रुपैयाँ अनुदान सहयोग दिएको छ । उनले अहिले कम्तिमा पनि वार्षिक ६ लाख रुपैयाँ नाफा कमाइरहेका छन् ।
केराखेतीबाट उनको परिवारमात्र हैन, मासिक ९ हजार रुपैयाँका दरले पाँचजनालाई रोजगारीसमेत दिएका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्