४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


मेलम्चीपछि यांग्री र लार्केको पानी काठमाडौं ल्याउन गृहकार्य सुरु


0
Shares

काठमाडौं, असार १७ । मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी डेढ वर्षपछि उपत्यकामा आउने निश्चित भएपछि नजिकैका यांग्री र लार्के खोलाको पानी पनि ल्याउने गृहकार्य सुरु भएको छ ।

मेलम्चीको पानी काठमाडौं ल्याउन बनाइएको २७ किमी सुरुङबाटै यांग्री र लार्केको पानी पनि ल्याउन सम्भाव्यता अध्ययन गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

२७ किमी सोही सुरुङलाई उपयोग गरे पनि मेलम्ची खोलाबाट यांग्री र लार्केसम्मको दूरीका लागि बाँकी १२ किमी सुरुङ खन्नका लागि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटको काम सुरु गरिएको समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले राससलाई जानकारी दिए ।

यांग्री र लार्केको सुरुङ निर्माण भएपछि उपत्यकामा थप ३४ करोड लिटर पानी आउने समितिले जनाएको छ ।

मेलम्चीको पानी काठमाडौं आइपुग्न जम्मा रु २३ अर्ब खर्च लाग्ने हिसाब निस्किएको कार्यकारी निर्देशक भट्टराईले बताए ।

सुरुङको प्रवेश मार्ग निर्माणका लागि सिन्धुपाल्चोकमा ४५ किमी सडक निर्माण र ३० किमी सडकको स्तरोन्नति एवं सामाजिक उत्थान कार्यक्रमकोसमेत गरी यो लागत निस्किएको हो । रु एक अर्बको आयोजनाले जग्गा नै किनेको थियो ।

हाल साढे १७ किमी सुरुङ निर्माण भइसकेको छ । पछिल्लो समय सुरुङमा कमजोर चट्टान आएकाले काम केही ढिला भएपनि वि.सं. २०७४ जेठदेखि असारसम्म सम्पन्न गरिसकिने समितिको प्रतिबद्धता छ ।

सुरुङभित्रका काम सम्पन्न गरी वि.सं. २०७४ को दसैंमा पानी धारामा खसालिने गरी तयारी गरिएको उनले जानकारी दिए । रासस