
काठमाडौं, असार १७ । मलेसियाको कैद शिविर (डिटेन्सन क्याम्प)मा रहेका १० नेपालीको उद्धार गरी नेपालमा ल्याइएको छ ।
मलेसियास्थित नेपाली दूतावासद्धारा जारी विज्ञप्तिमा अवैधानिकरुपमा काम गरेको आरोपमा जेल सजाय काटिसकेपछि पनि टिकट काट्ने रकम नभएर घर फर्किन नपाएका पाँचजना र विभिन्न शिविरमा रहेका पाँचजना गरी १० जनालाई बिहीबार नेपाल फर्काइएको उल्लेख गरिएको छ ।
मलेसिया भ्रमणमा रहेका श्रम तथा रोजगारमन्त्री दीपक बोहराले विभिन्न शिविरमा गइ अवलोकनकोक्रममा अलपत्र अवस्थामा रहेको उनीहरुलाई भेटेपछि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहयोगमा हवाई टिकट किनेर स्वदेश फर्काइएको हो ।
मन्त्री बोहराले शिविरका प्रमुखलाई त्यहाँ रहेका नेपालीलाई छिटो घर फिर्तिका लागि सहयोग गर्नसमेत आग्रह गरेका थिए ।
भ्रमणकोक्रममा उनले मलेसियास्थित व्यापारीलाई नेपालमा लगानी गर्न आग्रह गरे ।
सरकारी र गैरसरकारी संघ–संस्थाको सहयोगमा निःशुल्क टिकटको व्यवस्था गरी हालसम्म ५९६ जना नेपालीलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्