४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


गोरु पाल्ने दुःखले हाते ट्याक्टरतर्फ किसानहरु


0
Shares

नवीनराज कुइँकेल (इमेज)
लमजुङ, असार १७ । पहाडी जिल्ला लमजुङमा खेत जोत्न हाते ट्रयाक्टरको प्रयोग बढ्न थालेको छ ।

गोरु पाल्ने झन्झटले कृषकहरु आधुनिक हाते ट्रयाक्टरतर्फ आकर्षित भएका हुन् । धमाधम भैरहेको धान रोपाइँमा खेत जोत्न, सम्याउन हाते ट्याक्टरको प्रयोग गरिएको छ ।

बेसीसहर नगरापालिका–२ उदिपुर फलियासाँघुका किसान दिलबहादुर श्रेष्ठले दुई वर्षदेखि गोरुको सट्टा हाते ट्याक्टरले खेत जोत्न थालेको बताए ।

सुन्दरबजार पाउँदीका नन्दलाल गुरुङको खेतपनि ट्याक्टरले नै जोतियो ।

लमजुङका फाँट रहेका स्थानहरु भकुन्डे, उदिपुर, चिती, भोटेओडार, सुन्दरबजार, परेवाडाँडा, भोर्लेटार, इशानेश्वरलगायतका ठाउँमा हाते ट्याक्टरबाटै खेत जोतिएका छन् ।

एक हल गोरुले एक दिनमा जोत्ने काम हाते ट्याक्टरले एक घन्टामै सक्ने भएकाले पनि किसानहरु यान्त्रीकरणतर्फ आकर्षित भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले जिल्लामा चालु आर्थिक वर्षमा ६० ओटा ‘पावरटिलर’ अनुदानमा वितरण गरिएको बताए ।

आगामी वर्ष थप ७० ओटा पावरटिलर अनुदानमा वितरण गर्ने कार्यालयले जनाएको छ ।

लमजुङका अधिकांश ठाउँमा एक हल गोरुको १६ सय रुपैयाँ लिइँदै आएको छ ।

हलगोरु र हली पाउन हप्तौंसम्म पालो कुर्नुपर्ने बाध्यताले पनि किसानहरुलाई हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित गराएको हो ।

हाते ट्याक्टरको प्रयोगले लागत र समयमा बचत हुने गरेको किसानहरु बताउँछन् ।