काठमाडौं, असार १८ । पूर्वशिक्षामन्त्री एवं संघीय समाजवादी फोरम नेपालका सल्लाहकार परिषदका प्रमुख डा. मंगलसिद्धि मानन्धरको शनिबार अन्त्येष्टि गरिएको छ ।
पिसावथैलीको क्यान्सरबाट पीडित ७५ वर्षीय मानन्धरको शुक्रबार हृदयाघातका कारण निधन भएको थियो ।
उनको बौद्ध परम्पराअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनका ज्येष्ठ सुपुत्र पवन मानन्धरले दागबत्ती दिएका थिए ।
अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलिका लागि पशुपति आर्यघाटमा नेता–कार्यकर्ताको भीड लागेको थियो ।
पशुपति आर्यघाट पुगेर संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव, पूर्वउपराष्ट्रपति परमानन्द झालगायतकाले श्रद्धाञ्जलि अपर्ण गरेका थिए ।
यसअघि, श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीरलाई खुलामञ्चमा राखिएको थियो ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक मानन्धर २०५६ सालमा एमालेबाट सांसदमा निर्वाचित भएका थिए भने पहिलो संविधानसभामा पनि एमालेबाटै समानुपातिक सभासद बनेका थिए ।
तर, दोस्रो संविधानसभाको चुनावअघि उनी संघीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भएका मानन्धर २०६२/०६३ पछि बनेको सरकारमा एमालेको तर्फबाट शिक्षामन्त्री बनेका थिए ।
उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।










प्रतिक्रिया दिनुहोस्