
काठमाडौं, असार १८ । उपप्रधान एवं सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले सहकारी अभियानलाई ठीक ढंगबाट लैजान ऐनको आवश्यकता रहेको बताएका छन् ।
९४औं अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २३औं राष्ट्रिय सहकारी संघ दिवसको अवसरमा राष्ट्रिय सहकारी संघ लिमिटेडले शनिबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री केसीले ऐनको अभावमा सहकारीमा देखिएका विकृति, विसंगति नियन्त्रण गर्न नसकिने बताएका हुन् ।
उनले आफू सहकारी अभियानकोविरोधी नभएको भन्दै यसलाई व्यवस्थित गर्न प्रयास गर्ने बताए ।
मन्त्री केसीले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन संसदबाट फिर्ता पठाइएको उदाहरण दिँदै कसैले एकलौटीरुपमा सहकारी ऐन पारित गर्न नसक्ने बताए ।
उनले सरोकारवालासँग छलफल गरेरमात्र ऐन पारित हुने भन्दै ऐनबाट अनावश्यकरुपमा आतंकित नहुन आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय योजना आयोजका उपाध्यक्ष डा. युवराज खतिवडाले सहकारीले शान्त प्रकारले समाजमा आर्थिक–सामाजिक रुपान्तरण एवं दीगो विकासमा योगदान पुर्याएको बताए ।
यस्तै, राष्ट्रिय सहकारी संघ लिमिटेडका अध्यक्ष केशव वडालले सहकारीको गतिशीलतालाई अगाडि बढाउनुपर्ने भन्दै सहकारीको नाम प्रयोग गरेर अपराध गर्न पाउने अधिकार कसैलाई नभएको बताए ।
राष्ट्रिय सहकारी संघ लिमिटेडका पूर्वअध्यक्ष दीपकप्रकाश बाँस्कोटाले सहकारी ऐन–२०४८ लाई खारेज नगरेर संशोधन गर्नुपर्ने सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्