
काठमाडौं असार १८ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले दैलेखबाट प्राप्त पेट्रोलियम पदार्थको नमुना परीक्षण भइ चीनको सहयोगमा दोस्रो चरणको कार्य अगाडि बढाउने समझदारी भएको बताएका छन् ।
रिपोर्टर्स् क्लबले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले मुलुकमा भएका खनिज तथा पेट्रोलियम पदार्थ उत्पादनका लागि दैलेखबाट अन्वेषण सुरु गरिसकिएको बताउँदै नवलपरासीमा फलामलगायत धातुजन्य खानी, मुस्ताङमा युरेनियम र नुनखानी उत्खनन्का लागि गृहकार्य भइरहेको बताए ।
राप्रपाका नेता पशुपतिशम्शेर राणाले सरकारले संविधानप्रति असन्तुष्ट पक्ष तथा मधेसकेन्द्रित दलको भावनालाई चाँडो सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
उनले विभिन्न जिल्लामा रहेका भूकम्पपीडितलाई छानो नहुँदा अहिले ठूलो समस्या रहेको र वर्षात्अगाडि नै राहत तथा सहयोग उपलब्ध गराउन सुझाव दिए ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले अहिलेको संविधान गणतन्त्र, संघीयता र लोकतन्त्रको जगमा उभिएको विचार व्यक्त गर्दै त्यसको कार्यान्वयनका लागि आफ्नो पार्टीले सहयोग पुर्याउने बताए ।
उनले सरकारले देशमा भएका समस्या समाधान गर्न नसकेको आरोप लगाउँदै अब जनताले सरकारको विकल्प खोजेको बताए । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्