
काठमाडौं, वैशाख १६ । भूकम्पपछिको पुनःनिर्माणमा कार्यरत् प्राविधिकहरु काममा फर्कन सहमत भएका राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसनको मध्यस्थतामा प्राधिकरण र प्राविधिकहरुबीच भएको छलफलमा प्राविधिकहरुले आफूहरुका माग सम्बोधन भएको भन्दै तत्काल काममा फर्कने प्रतिबद्धता व्यक्त गरेका जनाइएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडित जनताको संवेदनशीलता र पुनःनिर्माणको महत्वलाई विशेष ध्यान दिइ काममा लाग्न र गाउँपालिका तथा नगरपालिकाहरुमा पुनःनिर्माण कार्यको नेतृत्व लिन प्राविधिकहरुलाई निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।
काममा नगइ व्यावसायिक मूल्य–मान्यता कायम गर्न नसकेको भेटिए विभागीय कारबाही गर्ने प्राधिकरणले जनाएको छ ।
प्राविधिकहरुले अतिरिक्त भत्ता र सुविधाको माग राखी आन्दोलन गर्दै आएकोमा गत हप्ता बसेको मन्त्रिपरिषदको बैठकले अतिरिक्त भत्ता र सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्