२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


रसुवागढी भन्सारबाट राजस्व लक्ष्य पूरा नहुने


0
Shares

रसुवा, असार २० । रसुवागढी भन्सारका लागि चालु आर्थिक बर्ष २०७२÷७३ का लागि दिइएको संशोधित राजस्व लक्ष्य पूरा नहुने भएको छ ।

पहिरोका कारण नेपाल र चीन दुबैतर्फ सडक अबरुद्ध हुनु, चीन प्रवेशका लागि एक दिने प्रवेशाज्ञाको व्यवस्था मिलाउन नसक्नु जस्ता कारणले लक्ष्य पूरा गर्न सकिने अवस्था नभएको भन्सार कार्यालय रसुवाले जनाएको छ ।

संशोधित राजस्व लक्ष्य २ अर्ब ४० करोड रहेकोमा असार १७ सम्ममा १ अर्ब ८६ करोड मात्र संकलन भएको छ ।

आर्थिक बर्षको सुरुमा ४० करोड मात्र राजश्व लक्ष्य राखिएकोमा कार्यालयले समय अगावै उल्लेख्य मात्रामा राजश्व संकलन गरेपछि पछिल्लो लक्ष्य दिइएको थियो । नेपालतर्फको पहिरो र चीनतर्फ भूकम्पबँट क्षति पुगेको सडक मर्मत गर्न बाटो अवरुद्ध हुँदा कन्टेनर आवतजावत गर्न पाएको थिएन ।

जसले राजस्व उठ्तीमा समस्या भएको थियो । पानी पर्न सुरु गर्नुपूर्व दैनिक ६० भन्दा बढी कन्टेनर चीन जाने गरेकामा अहिले दैनिक २० देखि २५ वटामा सीमित भएको भन्सार अधिकृत फणिन्द्र अर्यालले जानकारी दिए ।

चीनबाट नेपालतर्फ लसुन, अदुवा विद्युतीय सामग्री, कम्प्युटरका सामान, लत्ताकपडा आयात भैरहेको छ भने नेपालबाट चीनतर्फ इट्टा, जडीबुटी, पिठो कुचो लगायतका सामग्री निर्यात भइरहेको छ ।