४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


पहिरोले गुम्दाको लघुजलविद्युत् अवरुद्ध


0
Shares

गोरखा, असार २० । अविरल वर्षापछि झरेको पहिरोले गोरखाको गुम्दास्थित माग्लुङखोला लघुजलविद्युत् आयोजना फेरि अवरुद्ध भएको छ ।

गत वर्ष वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त भएको लघुजलविद्युत् आयोजना स्थानीयबासीले मर्मत गरेको एक साता नबित्दै पहिरो झरेपछि सोमबारदेखि अवरुद्ध भएको स्थानीयबासी भीमप्रसाद गुरुङले जानकारी दिए ।

२५ किलोवाट क्षमताको सो आयोजना अवरुद्ध भएपछि गुम्दाको ६, ७, ८ र ९ वडाका २६० टहराका भूकम्पपीडितले रातमा बत्ती बाल्न पाएका छैनन् भने कुटानी, पिसानी मिल पनि सन्चालन नहुँदा स्थानीयबासीले दुःख पाएका छन् ।

यस्तै, टेलिफोनका टावर सन्चालनमा पनि समस्या भएको छ । सो आयोजना मर्मतमा रु १७ लाख खर्च भएको थियो ।

पहिरो पन्छाएर आयोजना पुनः सन्चालन गर्न बजेट अभाव भएको गुरुङले बताए । रासस

फाइल फोटो