४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


नेपाल–भारत विज्ञ बैठकमा के हुन्छ ? फाइदा के ? कोसियारीले गरे कटाक्ष (भिडियोसहित)


0
Shares

सरस्वती कार्माचार्य/राममान डंगोल (इमेज)
काठमाडौं, असार २० । नेपाल र भारतबीच औपचारिकरुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको झन्डै ७० वर्षपछि दुई देशका विज्ञहरु सम्मिलित प्रबुद्ध समूहको बैठक काठमाडौंमा सुरु भएको छ ।

यही बैठकबाटै ठोस उपलब्धि त प्राप्त नहोला तर दुई देशबीचको सम्बन्धका विविध आयामबारे पहिलोपटक खुला बहस भने सुरुआत भएको छ ।

नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धिप्रति नेपालले सधैं गुनासो गर्दै आएको छ ।

कतिपय राजनीतिक दलहरुले सोही सन्धिकै कारण नेपाल–भारत सम्बन्धमा समस्या उत्पन्न भइरहेको तर्कसमेत गर्ने गर्दछन् । सोही सन्धिको विषयमा अब नेपाल–भारत प्रबुद्ध समूहमा खुला छलफल हुने भएको छ ।

त्यस अलवा दुई देशबीचका अन्य सन्धि–सम्झौतामा पनि बैठकमा छलफल हुनेछ ।

त्यसमाथि नेपालमा नयाँ संविधान जारी भएपछि चिसिएको दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउने अभिभारा पनि प्रबुद्ध समूहमाथि रहेको छ ।

काठमाडौंमा आजदेखि सुरु भएको नेपाल–भारत प्रबुद्ध समूहको पहिलो बैठकको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले दुई देशबीच राजनीतिक तहमा उत्पन्न हुने असमझदारीहरुले जनताको तहमा प्रभाव पार्न नहुने धारणा राखे ।

उनले यस्ता समस्याहरुलाई सल्टाउने जिम्मा पनि यही समूहलाई रहेको भन्दै बैठकबाट दुई देशबीचको सम्बन्धमा सुधार आउने र यसलाई थप प्रगाढ बनाउने प्रक्रिया सुरु भएको जिकिर पनि गरे ।

उद्घाटनकाक्रममा बोल्दै भारतीय पक्षका संयोजक तथा भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले नेपाल–भारतबीच रोटीबेटीको सानो सम्बन्धमात्र होइन, शास्वत सम्बन्ध रहेको बताए ।

उनले सांकेतिकरुपमा छिमेकी राष्ट्रको राजनीतिमा हस्तक्षेप गर्न नहुने धारणा पनि राखे ।

भारतीय पक्षको सबैभन्दा ठूलो चिन्ता पनि नेपाल र भारतलाई दुई असल छिमेकीकारुपमा कसरी अघि बढाउने भन्ने नै छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।