
-डिल्लीराज पन्त,ईमेज
कञ्चनपुर, असार २१ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ चुरेसँगै जोडिएको ‘झिलमिला ताल’ ओझेलमा परेको छ । जिल्लाकै मुख्य पर्यटकीय गन्तव्यका रुपमा रहेको यो तालको उचित संरक्षण र प्रचार प्रसार नहुँदा ओझेलमा परेको हो ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरबाट २५ किलोमिटर उत्तरी क्षेत्र चुरेको डाँडामा रहेको झिलमिला ताल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । समुद्र सतहदेखि झण्डै ६ सय ८० मिटर उचाईमा रहेको तालको चारैतिर डाँडा छन् ।
पानी निकास हुने ठाँउ छैन । बषौँदेखि एकै जात र एकै आकारका अनौठा माछाको झुण्ड छ तालमा । दिनमा तीन पटक तालको रङ्ग फेरिन्छ । तालको चारैतिर जंगल, रुख बिरुवा भएपनि ताल कञ्चन छ, पात पतिङगर समेत तालमा देख्न पाईदैन् । तालको छेउमा रहेको झिलमिला देविको मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजन यहां पुग्ने गरेका छन् ।
ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पर्यटकिय सम्भावना बोकेको प्राचिन तालको उचित संरक्षण, सम्र्बद्धन र प्रर्बद्धन गर्नका लागि सरकारी तथा गैर सरकारी क्षेत्रबाट उचित पहल नहुँदा ताल ओझेलमा पर्दै गएको छ ।
समयमै ताल संरक्षणका कार्य अघि नबढाउंदा चारैतिरको डाँडाबाट बग्ने पानीले माटो समेत ल्याउंदा ताल पुरिने खतरा छ । तालसम्म पुग्ने ८ किलोमिटर सडक निर्माण हुन नसक्दा यहाँ पर्यटक आउन नमान्ने स्थानीय बताउंछन् ।
ताल स्थलमा बासस्थान, खानेपानी, शौचालय पर्यटकका लागि होटेल लगायतका समस्याले गर्दा तालको पर्यटकिय विकास हुन नसकेको झिलमिला ताल संरक्षण समितिका अध्यक्ष मोति सिंह महता बताउँछन् ।
हालै स्थानीयले चन्दा संकलन गरेर ४ किलोमिटर सडक मर्मत गरे पनि कच्ची सडक बर्षातका बेला भत्किने समस्या रहेको छ । झिलमिला ताल संरक्षणका लागि जुटेको राष्ट्रिय सूचना तथा सञ्चार केन्द कञ्चनपुरले तालको स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा प्रचार प्रसार आवश्यक रहेको जनाएको छ ।
केन्द्रले अहिले ताल संरक्षणका लागि जिल्ला विकास समिति कञ्चनपुर, नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा ताल संरक्षण तथा प्रर्बद्धनका कार्यक्रम संचालन गरेको छ ।
तालको बारेमा जानकारी गराउने उदेश्यले तालको प्रचार प्रसारका साथै तालसम्म जाने सडकमा होडिङबोर्ड, साईनबोर्ड, ताल क्षेत्रमा सौयउर्जा जडान गरेको छ । ताल संरक्षणका लागि कार्यक्रम ल्याउनुपर्ने राष्ट्रिय सुचना तथा सञ्चार केन्द कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र महता बताउँछन् ।
धार्मिक आस्थाले आउने बाहेक प्राकृतिक स्थानमा मनोरन्जन गर्न आउने पर्यटकका लागि आवश्यकता अनुसार भौतिक पूर्वाधार निर्माण गरिनुपर्ने कञ्चनपुरका पर्यटन व्यवसायी प्रमानन्द भण्डारी बताउँछन् ।
झिलमिला तालको विकासका लागि समुदाय, निजी र सरकारी निकायबीच समन्वयन हुनुपर्ने नागरिक समाज कञ्चनपुरको जोड छ । ताल संरक्षणका लागि स्थानीयहरु पनि जागरुक हुनुपर्ने नागरिक समाज कञ्चनपुरका संयोजक भवराज रेग्मी बताउँछन् ।
कञ्चनपुरको शुक्लाफाँटा बन्यजन्तु आरक्ष, दोधारा–चांदनी झोलुङ्गेपुल जस्तै यस तालको संरक्षण र सम्वर्धन गर्न सके झिलमिला ताल पनि पर्यटकका लागि कञ्चनपुरको अर्को मुख्य गन्तव्यका रुपमा स्थापित हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्