२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


सांसदको आरोप, आपत्ति र गुनासा, कसले–के भने ?


0
Shares

काठमाडौं, असार २१ । सांसदहरुले भूकम्प र बाढी–पहिरोपीडितको राहत तथा उद्धारमा ध्यान नदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

व्यवस्थापिका–संसदको मंगलबार बसेको बैठकको विशेष तथा शून्य समयमा बोल्दै उनीहरुले जनताका समस्याप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षणसमेत गराए ।

कांग्रेस सांसद नविन्द्रराज जोशीले काठमाडौंका भूकम्पपीडितलेसमेत १५ हजार रुपैयाँको राहत पाउन नसकेको भन्दै सरकारले तथ्यांक संकलनसमेत सुरु नगरेको आरोप लगाए ।

यस्तै, नेकपा एमालेका सांसद विकास लम्सालले पर्वतको तिलाहारस्थित नहर भत्किएका कारण स्थानीयले रोपाइँ गर्न नपाएको र भूकम्पपीडित जनताले हालसम्म पनि सामान्य राहत नपाएको भन्दै आपत्ति जनाए ।

माओवादी केन्द्रका सांसद कर्णबहादुर विकले बाजुरा, अछाम, डोटीलगायतका जिल्लाका ग्रामीण क्षेत्रमा पहिरोको जोखिम बढेको भएपनि सरकारी निकायले ती क्षेत्रका जनतालाई सुरक्षित स्थानमा सार्ने प्रयत्न नगरेको गुनासो गरे ।

यस्तै, राप्रपा नेपालका सांसद सुशीलकुमार श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको सातओटै प्रदेशमा मेडिकल कलेज खोल्ने कार्ययोजनालाई तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरे ।

मालेका सांसद अइन्दसुन्दर नेम्वाङले पाँचथरमा विषालु च्याउ खाएर पाँचजनाको ज्यान गएको र दर्जन बढी बिरामी भएपनि जनचेतना फैलाउनेतर्फ ध्यान नदिइएको गुनासो गरे ।

कांग्रेस सांसद रामहरि खतिवडाले भने शून्य समयमा बोलेका विषयमा सरकारले ध्यान नदिएको भन्दै सीटबाट उठेर नबोली विरोध जनाएका थिए ।