१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


बाढी–पहिरोको क्षतिबारे सदनलाई जानकारी दिन सभामुखको निर्देशन


0
Shares

काठमाडौं, असार २२ । व्यवस्थापिका–संसदको बुधबारको बैठकको शून्य समयमा सांसदले मुलुकका विभिन्न भागमा बाढी–पहिरोका कारण प्रभावित जनतालाई राहत र उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।

सांसदले भूकम्पबाट प्रभावित सिन्धुपाल्चोकको भोटेकोसीमा बाढीका कारण आसपासका मानिस प्रभावित भएको, गोरखा, प्यूठानका विभिन्न ठाउँमा पहिरोबाट पीडित भएको जनाउँदै मृतक परिवारलाई क्षतिपूर्ति दिन माग गरे ।

उनीहरुले बाँकेको सिक्टा सिँचाइ नहर भत्किएको घटनाको छानबिन गर्न पनि माग गरे ।

तत्पश्चात् सभामुख ओनसरी घर्तीमगरले जनधनको क्षति र महिला हिंसाका सम्बन्धमा सांसदहरुले उठाउँदै आएको सन्दर्भमा सदनमा जवाफ दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिएकी छन् ।

केही सांसदले तराई–मधेसकेन्द्रित दललाई अनसन छाडेर संसदमै संघर्ष गर्न र वार्तामा आउन आग्रह गरेका थिए भने केहीले सरकारले नाता र दाताका आधारमा न्यायाधीश तथा राजदूतको सिफारिस गरेको आरोप लगाउँदै त्यस्ता व्यक्तिले पदीय जिम्मेवारी पूरा नसक्ने बताए ।

केही सांसदले विदेश जाने मन्त्रीले आफूखसी मान्छे लगेको, सांसदहरु पनि त्यस्तोमा मुछिएकोबारे छानबिन हुनुपर्ने माग गरे ।

सांसदहरु अतृमतकुमार बोहरा, मोहनबहादुर बस्नेत, कृष्ण धिताल, परशुराम तामाङ, कमला विश्वकर्मा, डिल्लीप्रसाद काफ्ले, दुर्गा पौडेल, हरिचरण साह, चीनकाजी श्रेष्ठ, प्रकाश ज्वाला, बुँदराम थापा, रामहरि खतिवडा, कृष्णभक्त पोखरेलले शून्य समयमा भाग लिएका छन् ।

बैठकमा अहिले विनियोजन विधेयक, २०७३ अन्तर्गत् विभिन्न मन्त्रालयका शीर्षकमाथिका छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेक्रम प्रारम्भ भएको छ । रासस

फाइल फोटो