१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


मुस्ताङमा नयाँ गुफा भेटियो


0
Shares

मुस्ताङ, असार २२ । मुस्ताङ सदरमुकाम जोमसोमनजिकै ठिनी गाउँमा हालै नयाँ गुफा भेटिएको छ ।

जोमसोम वडा नम्बर–१, २, ३ र ४ मा पर्ने ठिनी गाउँमा केही समयअघिमात्र दुईओटा गुफा पत्ता लागेका थिए ।

उक्त गुफाको नाम स्थानीयवासीले ‘लियोपार्ड केभ’ (चितुवा गुफा) राखेका थिए । गुफा भेटिएसँगै त्यसको अवलोकन गर्न थुप्रै आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमको आर्थिक सहयोगमा जनमुक्ति युवा क्लबले ठिनी गाउँदेखि गुफासम्म पुग्ने बाटो मर्मतकाक्रममा उक्त नयाँ गुफा भेटिएको क्लबका अध्यक्ष नरेन्द्र थकालीले जानकारी दिए ।

‘पहिला यो गुफाकाबारेमा स्थानीयबासीलाई केही पनि जानकारी थिएन’– उनले भने–‘तर अहिले छोटो अवधिमै तीनओटा गुफा भेटिएको छ ।’

यी गुफा प्राचीनकालको भएको स्थानीयबासीको भनाइ छ । गुफालाई पर्यटनसँग जोड्नसके धेरै राम्रो हुने ठिनी गाउँका गाउँ मुखिया कुलबहादुर थकालीले बताए ।

ठिनी क्षेत्रमा चितुवा र हिउँ चितुवा गरी दुबै खालका चितुवा पाइन्छन् । मुस्ताङका माथिल्लो भागमा यस्ता गुफा धेरै संख्यामा भएपनि तल्लो भागमा कमै संख्यामा गुफा छन् ।

प्रचार–प्रसारको कमीले पनि तल्लो भागमा रहेका गुफाकाबारेमा धेरै मानिसलाई जानकारी नभएको हो ।

एक्याप जोमसोमकी कार्यालय प्रमुख निरु थापाले जिल्ला भित्रिने पर्यटकलाई गुफाकाबारेमा जानकारी गराएर उनीहरुको बसाइ अवधि बढाउनसके सबैलाई लाभ पुग्ने बताइन् । रासस

फाइल फोटो