
काठमाडौं, असार २२ । आपूर्तिमन्त्री गणेशमान पुनसहितको टोलीले बुधबार पनि गरेको खाद्य उद्योगहरुको अनुगमनकाक्रममा अधिकांश उद्योगमा समस्या पाइएको छ ।
अनुगमन टोलीले पाटन औद्योगिक क्षेत्रभित्र गरेको अनुगमनकाक्रममा आँगन ‘ब्रान्ड’को मिठाइ उत्पादन गर्ने पशुपति फुड्सको किचेन बन्द गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
यस्तै, संयुक्त डेरीले आफ्नो उत्पादनमा उत्पादन मिति, उपभोग्य मिति, उद्योगको नाम, ठेगाना नराखेको पाइएको छ ।
यसैगरी, शक्ति फुडले पनि खाद्य अनुज्ञापत्र नलिइ खाद्यान्न उत्पादन गरेको, प्याकेटमा उत्पादन मिति र अधिकतम् मूल्य नखुलाएको पाइएको छ ।
अनुगमन टोलीले ती उद्योगबाट परीक्षणका लागि स्याम्पल लगेको र त्यसको प्रतिवेदनपछिमात्रै कारबाही अगाडि बढाइने आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए ।
मन्त्री पुनले लापरबाही गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गर्ने बताए ।
उनले हालको अनुगमन प्रणाली परम्परागत् भएको एवं आगामी दिनमा उपभोक्ता हित संरक्षण र अनुगमनको विशेष अभियान सुरुआत गर्ने बताए ।
अनुगमन अझै केहिदिन चल्ने विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्