१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम रोकिने अवस्थामा


0
Shares

कञ्चनपुर । बजेट अभाव भएपछि महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम रोकिने अवस्थामा पुगेको छ ।

बजेट अभावले काम गरेको भुक्तानी दिन नसक्ने अवस्थामा पुगेपछि आयोजनाअन्तर्गत मुल नहर निर्माणको काम रोकिने अवस्थामा पुगेको हो ।

समयमै बजेट नपाउँदा तोकिएको काम पुरा गर्न नसकिएको र बजेटका लागि पटक पटक ताकेता गर्दा पनि वेवास्ता गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक लोकबहादुर थापाले बताए ।

उनले निर्माण सम्पन्न भएको कामको करिब २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै समयमै भुक्तानी दिन नसकेकाले आयोजनाप्रतिको विश्वाससमेत घट्दै गएको गुनासो गरे ।

महाकाली सन्धिअनुसार टनकपुरबाट पाउने एक हजार क्युसेक पानीले ३३ हजार ५ सय हेक्टर जमिनमा सिँचाइ पुुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको आयोजनाले सुरुवाती अवस्थादेखि बजेट अभावका कारण गति लिन सकेको छैन ।

२०६३ सालमा ३३ अर्ब रुपैयाँ लागतमा सुरु गरिएको आयोजनाको हालसम्म २ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयले जनाएको छ । १२ बर्षमा १३ किलोमिटर मुल नहर निर्माण गरेको आयोजनाको भौतिक प्रगति ७ प्रतिशत मात्रै रहेको छ ।