
फाइल फोटो
काठमाडौं, असार २४ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका– संसदको शुक्रबारको बैठक पनि बहिस्कार गरेको छ ।
सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चासँग आवद्ध राजनीतिक दलका सांसदले आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाए ।
त्यसकोलगत्तै सभामुख घर्तीले मोर्चाको तर्फबाट सांसद अकवाल अहमद साहलाई बोल्नको लागि समय प्रदान गरिन् ।
सांसद साहले संविधानका अन्तरवस्तुका विषयलाई लिएर मोर्चाले ९ महिनादेखि सडक आन्दोलन र अनसनमा रहँदा पनि प्रमुख राजनीतिक दल र सरकारले बेवास्ता गरेको आरोप लगाउँदै संविधानको मूलमर्मले पछि पारिएका समुदायको भावना आत्मसात् गर्न नसकेको धारणा राखे ।
आन्दोलनकारीका मागलाई सम्बोधन नगर्ने हो भने देश दुर्घटनामा जानसक्ने चेतावनी दिँदै उनले संविधानले अल्पसंख्यक जनतालाई होइन, विगतदेखि राजगर्दै आएको निश्चित् वर्ग र समुदायलाईमात्र हित गर्ने धारणा राखे ।
वर्तमान संविधान नेपाली जनताको हक–अधिकारकोविरुद्धमा रहेकाले परिमार्जन नभएसम्म स्वीकार गर्न नसक्ने बताउँदै सांसद साहले जहिलेसम्म मोर्चाले उठाएको माग पूरा हुँदैन त्यो समयसम्म सदनको बैठक बहिस्कार गर्ने जानकारी गराए ।
त्यसलगतै मोर्चासँग आवद्ध राजनीतिक दलका सांसद बैठकबाट बाहिरिए ।
मोर्चामा संघीय समाजवादी फोरम नेपाल, तराई– मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, थरुहट तराई पार्टी नेपाल, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टी आवद्ध छन् ।
नेपालको संविधानप्रति फरक धारणा राखेर ९ महिनादेखि आन्दोलनमा रहेको मोर्चाले निरन्तररुपमा सदन बहिस्कार गर्दै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्