२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


‘माओवादी पछि हट्दैन’


0
Shares

पोखरा, असार २४ । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले सहमतीय सरकारको नेतृत्व लिन माओवादी तयार रहेको बताएकी छन् ।

प्रेस सेन्टर नेपाल कास्कीको एकता अधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले जसको नेतृत्वमा सहमति हुन्छ, त्यसैको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने र नेतृत्व दिए माओवादी पछि नहट्ने धारणा राखिन् ।

‘संविधान कार्यान्वयन, जनताका भावनालाई सम्बोधन र शान्ति–प्रक्रियाका बाँकी काम पूरा गर्न सहमतिको विकल्प छैन’–उनले भनिन्–‘सहमति कायम गर्नका लागि माओवादी केन्द्रले पहल कदमी सुरु गरिसकेको छ ।’

दुई ठूला पार्टीबीचको सहमति एक वर्षअघि टुटेपछि नेकपा एमालेको नेतृत्वमा माओवादीलगायतका दल मिलेर सरकार बनेको स्मरण गराउँँदै प्रवक्ता भुसालले बहुमतीय आधारमा बनेको सरकार प्रभावकारी हुन नसकेको विचार व्यक्त गरिन् ।

प्रेस सेन्टर नेपाल कास्कीका संयोजक दीपक परियारको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजकाजी गुरुङ, सल्लाहकार कोमलनाथ बराल, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, प्रेस सेन्टर प्रदेश नम्बर–४ का संयोजक त्रिभुवन पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, प्रेस चौतारीका अध्यक्ष माधव बराललगायतका वक्ताहरुले एकता अधिवेशनको शुभकामनाका साथै आफ्ना भनाइ राखेका थिए । रासस