
कैलाली, पर्वत असार २५ । समयमै पर्याप्त वर्षा भएपछि सुदूरपश्चिममा यो बर्ष असारको अन्तिम साता हुँदासम्म आधाजसो क्षेत्रमा रोपाई भएको छ ।
कैलालीको धान बाली लगाउन योग्य जमीनमा हालसम्म ५० प्रतिशत रोपाई सकिएको जिल्लास्थित कृषि कार्यालयले जनाएको छ ।
यो वर्ष समयमै किसानले मल–बीउ पाएकाले वर्षे बाली उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । पर्याप्त वर्षा भएकाले गत बर्षभन्दा राम्रो धान उत्पादन हुने आशा किसानहरुको छ ।
यही समयमा अघिल्लो वर्ष किसानले बल्ल रोपाई थालेका थिए । यसबर्ष समयमै रोपाई सकिएकाले धान राम्रो फल्न सक्ने आशा किसानको छ ।
गत बर्ष बोरिङ र नहरको भर पर्दा धान ढिलो गरी रोप्नुपरेको थियो । जिल्ला कृषि विकास कार्यालय कैलालीका बाली विकास अधिकृत सुदिप खतिवडाले हालसम्म जिल्लामा ५० प्रतिशतभन्दा बढी रोपाई सकिएको बताउँदै गत बर्ष यहि समयमा जिल्लामा २० प्रतिशत मात्रै रोपाई भएको जानकारी दिए ।
कैलालीको खेतीयोग्य ७१ हजार २ सय ५० हेक्टर जमिन मध्ये हालसम्म ३१ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा रहेको छ ।
यता, पर्वतका कृषकलाई धान रोपाई गर्न भ्याईनभ्याई भएको छ । असार तेस्रो सतासम्म पर्वत जिल्लामा झण्डै ५० प्रतिशत रोपाई भएको छ ।
गत वर्षभन्दा यस वर्ष वर्षा छिटै शुरु भएकाले रोपाई पनि छिटो भएको हो । अहिले जिल्लाको सबैजसो ठाउँमा रोपाई भैरहेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।
धान रोप्न योग्य खेतमध्ये २६ प्रतिशत खेतमा मकै बाली लगाइएको छ भने बाँकी अधिकांश खेतमा अहिले रोपाई सकिएको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बासुुदेव रेग्मीले जानकारी दिए ।
अझै ५० प्रतिशत खेतमा रोपाई गर्न बाँकी रहेको कार्यालयले जनाएको हो । पर्वत जिल्लामा धान फल्ने ९ हजार २१ हेक्टर जमिन रहेको छ । त्यस मध्ये झण्डै ४ हजार ५ सय हेक्टरमा रोपाई भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस्