
फाइल फोटो
काठमाडौं, असार २५ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र शान्ति–प्रक्रियाका बाँकी काम पूरा गर्ने वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।
व्यवस्थापिका–संसदको विनियोजन विधेयक, २०७३ अन्तर्गत् अर्थ मन्त्रालयसँग सम्बन्धित सांसदहरुले उठाएको प्रश्नको शनिबार जवाफ दिँदै उनले आगामी आर्थिक वर्षको बजेटले ६ दशमलव ५ प्रतिशतको आर्थिकबृद्धिको लक्ष्य राखेको भन्दै बजेट आर्थिक समृद्धि र समाजवादी अर्थतन्त्रको आधार निर्माण गर्न केन्द्रित रहेको बताए ।
स्वच्छ खानेपानी, महिलाको आर्थिक विकास, ठूला पूर्वाधारयुक्त आयोजनाबाट रोजगारीको अवसर सिर्जना गर्दै गरिबी निवारण गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उनले विकास बजेट बढाएर योजनाबद्ध विकास सुरु गरिएको एवं शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको जानकारी गराए ।
भूकम्प, सीमानाकामा भएको अवरोधलगायतका कारणबाट शिथिल भएको मुलुकको अर्थतन्त्रलाई चलायमान गराइ भूकम्पपछिको पुनःनिर्माणमा बजेटकेन्द्रित गरिएको भन्दै उनले मूल्यवृद्धि नियन्त्रण गर्न सबै प्रकारका उपायको अवलम्बन गरिने स्पस्ट पारे ।
राष्ट्रिय योजना आयोगले तयार पारेको १४औं राष्ट्रिय योजनाको सीमा र दायराभित्र रहेर बजेट व्यवस्था गरिएको, राष्ट्रिय गौरवका आयोजनामा स्रोत र साधनको कमी हुन नदिने, वैदेशिक रोजगारीको निर्भरतालाई कम गर्न स्वदेशमा नै रोजगारीको प्रबन्ध गर्न अर्थ मन्त्रालय प्रतिबद्ध रहेको उनको कथन छ ।
द्वन्द्वकालमा हटाइएका बैंक तथा वित्तीय संस्थालाई पुनःस्थापना गरेर जनतालाई सहज र सरलरुपमा सेवा प्रदान गर्न सरकारले विशेष ध्यान दिएको भन्दै उनले बजेट कार्यान्वयनमा सबैको सकारात्मक साथ र सहयोगको अपेक्षा गरे ।
उनले सत्य निरुपण तथा मेलमिलाप आयोगलाई स्रोत र साधन सम्पन्न बनाउन तथा बजेट उपलब्ध गराउन अर्थ मन्त्रालय लागिपरेको बताए ।
शान्ति–प्रक्रियाका सम्पूर्ण काम शीघ्र सम्पन्न गर्न सरकारले प्रतिबद्धता जनाएकोमात्रै नभइ सम्पन्न गर्ने मार्गमा लागेको उनको कथन थियो ।
सांसदहरु रामहरि खतिवडा, प्रेस सुवाल, अमरसिंह पुन, नवीन्द्रराज जोशी, हितराज पाण्डेले मन्त्री पौडेलको धारणाप्रति स्पष्टीकरण मागेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्