
-प्रज्ञा तिमल्सिना र राममान डंगोल(ईमेज)
काठमाडौं । हरेक सफल व्यक्तिको जीवनमा संघर्षका रोचक कथाहरु लुकेका हुन्छन् । उनीहरुको बर्तमानलाई हेर्दा विगत पत्याउन गाह्रो हुन्छ ।
थोरै चलाखी, सावधानी र समयको महत्वलाई बुझ्दा उनीहरु सफल भएका हुन्छन् ।
सफलताभित्र लुकेका यस्तै केही अनुभव आज बाँडे खर्बपति नेपाली उद्योगी विनोद चौधरीले व्यवस्थापन विषय पढिरहेका विद्यार्थीहरुसँग ।
उद्योपति चौधरीले झन्डै २ घण्टा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागमा स्नातकोत्तर गर्दै गरेका विद्यार्थीसँग विताएका थिए ।
त्यसक्रममा उनले आफनो व्यापारिक जीवनको संर्घष, अनुभव र सफलताको कथा सुनाए ।
सही समयमा लिएको सही निर्णयले आफनो जीवनमा पारेको प्रभावबारे सुनाउँदै उनले १९ बर्षको उमेरमा नै व्यापारिक क्षेत्रमा प्रवेश गरेको लगाएतका स्मरण विद्यार्थीहरुसँग साटे ।
विद्यार्थीहरुलाई प्रेरणा दिँदै चौधरीले नेपाली युवाले सुरु गरेका नयाँ र सिर्जनशील कामको वारेमा पनि जानकारी दिए ।
विद्यार्थीहरुलाई ‘तपाईहरुसँग सही उपाय छ भने बजारले नै तपाईलाई खोज्दै आउँछ भन्दै उनले समयको महत्व बुझी काममा लगनशील हुन सुझाव दिए ।
सही दृष्टि नै जीवनको मार्गचित्र हो र अवसरहरुलाई चिनेर अगाडि बढ्ने व्यक्ति नै सफल हुन्छ भन्दै उद्योगपति चौधरीले सोचको उडानलाई उड्न दिनुहोस, तपाईं विश्वको सफल व्यक्ति बन्न सक्नु हुन्छ भनी विद्यार्थीहरुलाई प्रेरणा दिए ।
कार्यक्रममा विद्यार्थीहरुले उनले सफलताको सूत्र, चौधरी ग्रुपले व्यवस्थापन विषय पढेका विद्यार्थीहरुलाई कसरी समेटछ ? सफल व्यापारी कसरी बन्नेदेखि राजनीतिमा किन प्रवेश गरेको ? लगाएतका प्रश्न सोधेका थिए ।
विद्यार्थीहरुको प्रश्नको जवाफ दिँदै चौधरीले सम्बन्धहरुका सञ्जाल नै सबैभन्दा ठूलो पूँजी हो भने ।
उनले जीवनमा आइपरेका समस्यामा अल्झेर नबस्दा आफुले सफलता हात पारेको सुनाए ।
तपाईसँग सही दृष्टिकोण छ भने पुँजीले कुनै समस्या ल्याउन नसक्ने भन्दै उनले शिक्षित र दक्ष व्यक्तिलाई नेपालमा केही गर्न सकिन्छ भन्ने विश्वास जाग्न जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्