
-रबिन भट्टराई, ईमेज
ताप्लेजुङ, असार २७ । ताप्लेजुङको सावादिन गाविसमा शनिवार गएको पहिरोले तमोर नदी थुनिएर बनेको तालको अबस्था ३० घण्टा बितिसक्दा पनि उस्तै रहेको छ ।
सावादिन गाविसको नाक्ला भीरबाट झरेको पहिरोले शनिबार राति दुई बजे तमोर नदी थुनेको थियो । नदी थुनिएर करिब ६ सय मिटर लम्बाई र २ सय मिटर चौडाईको ताल बनेको छ ।
यसले फुरुम्बुतर्फको भागबाट जमीन काट्दै बगेको छ । नाक्ला भीरबाट पहिरोसँगै ठूला ठूला चट्टान झरेर नदी थुनेकाले थुनिएको भाग खोल्न नसकेको स्थानीयबासीको भनाइ छ ।
तालदेखि मुनिको तमोर नदी किनारका हान्द्रुङ र दोभानसहित खोक्लिङ गाविसको थुम्बाबेसी बस्ती जोखिममा नै छन् ।
नदी थुनिएर ताल बनेको स्थानभन्दा माथिको नदीबाट बाढी आएर थुनिएको भाग खुलेमा ती बस्ती जोखिममा पर्ने देखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।
पहिरो झरेको स्थानमा पुग्न बाटो नभएको र फुरुम्बुतर्फ नदीले कटान गरिरहेकाले थुनिएको नदी खोल्न सक्ने अबस्था नरहेको प्रहरीले जनाएको छ ।
नदी थुनिएपछि खुलाउन आईतबार सदरमुकामबाट घटनास्थल गएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली त्यसै फर्किएको छ ।
प्रतिक्रिया दिनुहोस्