
काठमाडौं । ललितपुर महानगरपालिका, वडा नं. ८ का विभिन्न महिला समूहहरुका लागि आयोजित १० दिने उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न भएको छ ।
वडा ८ का महिलाहरुलाई विभिन्न कार्यक्रम आयोजना गर्न सहज होस् भन्ने उद्देश्यले जय मनोहर महाविहार मिसा पुचः, सुबहालले महाविहार प्राङ्गणमा उक्त तालिम आयोजना गरेको हो ।
ललितपुर महानगरपालिका वडा नं. ८ को सहयोगमा आयोजित उक्त तालिम २०७५ चैत्र २४ आइतबारबाट शुरु भएको थियो ।
प्रशिक्षणमा आयोजक जय मनोहर महाविहार मिसा पुचः लगायत यलमूल मिसा पुचः,यंगुबहाः मिसा पुचः, सरस्वती मां पुचः, सुबहाः मां पुचः, जागृति महिला पुचःका महिलाहरुका साथ टोलका पुरुष प्रशिक्षार्थी समेत उत्साहित भएर सहभागी भएका थिए ।
२५ जना प्रशिक्षार्थीको सहभागिता रहेको उक्त तालिममा संचारकर्मी एवं कार्यक्रम निर्माता, संचालक सुरजवीर बज्राचार्यले प्रशिक्षण दिएका हुन् ।
जय मनोहर महाविहार मिसा पुचःका अध्यक्ष पञ्चमाया शाक्यको अध्यक्षता भएको तालिमको समापन समारोहका प्रमुख अतिथि लपुमनपा वडा नं. ८ का वडा अध्यक्ष हेम महर्जनले प्रमाण पत्र वितरण गर्नुहुदै यस्तै अन्य कार्यक्रम निरन्तर आयोजना गर्न आग्रह गरिन ।
वडा कार्यालय सँधै सघाउने तत्पर रहने प्रतिवद्धता ब्यक्त गर्दै उनले १० दिने तालिमबाट प्राप्त उपलब्धिप्रति खुशी ब्यक्त गरिन ।
कार्यक्रमका विशेष अतिथिका वडा महिला सदस्य लक्ष्मी महर्जन, प्रशिक्षक सुरजवीर बज्राचार्यले पनि मन्तब्य राखेका थिए भने जय मनोहर महाविहारका दाफा भजन गुरु नेमराज शाक्यले विहारको ऐतिहासिक तथा सांस्कृतिक महत्वका बारे जानकारी गराए ।
समारोहमा विहारका ज्येष्ठ आःजु पुण्यराज शाक्य, वडा सदस्य प्रकाश महर्जन, जय मनोहर महाविहार सुधार समितिका अध्यक्ष सिङ्गराज शाक्यको पनि उपस्थिति थियो ।
तालिममा सहभागी तथा आयोजक मिसा पुचःका सदस्य अनुषा शाक्यले स्वागत मन्तब्य राखेको समारोहमा धन्यवाद ज्ञापन तालिमकै अर्का सहभागी पुचःका सह–सचिव सुनीता शाक्यले गरिन ।
कार्यक्रममा तालिमको अनुभव सुनाउने क्रममा प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञानबाट आफूहरु उत्साहित भएको बताउँदै तालिमको अवधि बढाउनु पर्ने औल्याए ।
अन्य तालिमहरु पनि निरन्तर गर्न सहयोगका लागि वडाको ध्यानाकर्षण गराउँदै आशा ब्यक्त गरे ।
आयोजक मिसा पुचःका सचिव जेविन शाक्यले संचालन गरेको समापन समारोहमा ज्येष्ठ प्रशिक्षार्थीहरु ज्ञानीशोभा शाक्य, बालकुमारी शाक्यका साथै रमिला बज्राचार्य, शान्ता शाक्य, अष्टरत्न शाक्य, सुमन शाक्य, पूनम महर्जन, अञ्जना शाक्य, लक्ष्मी शाक्यले आफ्नो अनुभव सुनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्