Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


सडकमा मात्र होइन, अब सार्वजनिक गाडीभित्रै पनि हुन सक्छन् ट्राफिक प्रहरी


0
Shares

काठमाडौं, असार २८ । तपाई जेब्रा क्रसिङ भएको स्थानमा तीब्र गतिमा गाडी कुदाउँदै हुनुहुन्छ ? वा तोकिएकोबाहेकका अन्य स्थानमा सार्वजनिक यातायातका गाडी रोक्दै हुनुहुन्छ ? आइन्दा सावधान हुनुहोला ।

तपाईले चलाएको गाडी सार्वजनिक यातायातको हो भने सादा पोशाकमा ट्राफिक प्रहरी तपाईकै गाडीभित्र हुन सक्छन् ।

साउन पहिलो सातादेखि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङमा तीब्र गतिमा गाडी कुदाउने र जहाँ पायो त्यही गाडी रोक्नेलाई कडा कारवाही गर्ने तयारी गरेको छ । त्यसका लागि महाशाखाले ठूलो संख्यामा सादा पोसाकका ट्राफिक प्रहरी परिचालन गर्ने तयारी गरेको छ ।

‘सादा पोसाकमा ट्राफिक प्रहरी सार्वजनिक यातायातमा अन्य यात्रुसँगै बस्छन्,’ महाशाखाका डिआइजी प्रकाश अर्यालले भने, ‘गल्ती गरेको पाए उनीहरुले ड्युटीमा खटिएको ट्राफिक प्रहरीलाई कारवाहीका लागि खबर गर्छन्, तत्काल कारवाही प्रक्रिया अघि बढाइन्छ ।’

चालकले जेब्रा क्रसिङमा नरोक्ने, यात्रुलाई प्राथमिकता नदिने र जहाँ पायो त्यहीं रोक्ने प्रबृत्ती हावी भएपछि यो अभियान संचालन गर्न लागिएको अर्यालले बताए । –कान्तिपुर दैनिकबाट