
काठमाडौं, असार २८ । भारतले दुई वर्षअघि उपहारस्वरुप उपलब्ध गराएको सैन्य हेलिकप्टरबापत सवा अर्ब रुपैयाँ तिर्न नेपाललाई ताकेता गरेको छ ।
सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले उक्त हेलिकप्टर उपहार भनी नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए ।
मंसिर १, २०७१ का दिन सैनिक मञ्च टुँडिखेलमा तामझामसहित आयोजित विशेष समारोहबीच मोदीले समकक्षी कोइरालालाई ‘एयर टु मिसाइल–एएलएच ध्रुव मार्क थ्री’ हेलिकप्टर हस्तान्तरण गरेका थिए । नेपाली सेनाका लागि दिइएको उक्त हेलिकप्टर कोइरालाले तत्कालै तत्कालिन प्रधानसेनापति गौरवशमशेर जबरालाई हस्तान्तरण गरेका थिए ।
उक्त हेलिकप्टरको मूल्य एक अर्ब २४ करोड र थप ३ करोड रुपैयाँ दुई पटकको मर्मत तथा नेपाल आएका प्राविधिक समूहको खर्चसमेत जोडेर भारतले एक अर्ब २७ करोड रुपैयाँको बिल पठाएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।
रक्षा मन्त्रालयका प्रवक्ता शिवप्रसाद सिम्खडाले भारतले सुरक्षा सम्बन्धी परामर्श समूहको १२ औं बैठकमा समेत नेपाली सेनाका लागि उपलब्ध गराइएका विविध सुरक्षा सामग्रीको रकम भुक्तानबारे कुरा उठाएको जानकारी दिए । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्