२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


तत्काल सरकारमा जाँदैनौ : यादव, अनशनस्थल पुगेर दाहालले के भने ?


0
Shares

काठमाडौं, असार ३१ । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले गठबन्धनले राखेको २६ बुँदे माग संविधानमा नसमेटिएसम्म तत्काल सरकारमा नजाने बताएका छन् ।

स्वायत्त र अधिकारसम्पन्न प्रदेश हुनुपर्ने, सरकारी कामकाजमा बहुभाषी नीति लागू गर्नुपर्ने, जनसंख्याका आधारमा प्रदेशको स्थान संख्या निर्धारण हुनुपर्नेलगायत माग राखी ३९ दिनसम्म बसेको रिले अनशनको शुक्रबार समापन गर्दै संयोजक यादवले गठबन्धनले राखेको माग पूरा नभएसम्म आफूहरु सरकारमा नजाने स्पस्ट पारे ।

उनले भने–‘हाम्रो आन्दोलनलाई हरेक क्षेत्रको व्यक्तिको समर्थन रहेकाले राज्यले समर्थन गर्नुपर्छ, यो आन्दोलन सम्बोधन नभए मुलुक हिंसातर्फ जान्छ ।’

कार्यक्रममा राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी, थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारु, तराई–मधेस सद्भावना पार्टी नेपालका वरिष्ठ नेता रामनरेश रायलगायतले सरकारले गठबन्धनको माग पूरा नगरेसम्म आन्दोलन नरोकिने स्पस्ट पारे । अनशन गत जेठ २५ देखि सुरु भएको थियो ।

गठबन्धनका माग प्राथमिकतामा : दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय गठबन्धनले राखेका मागलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

अनशनप्रति समर्थन जनाउन शुक्रबार खुलामन्च पुगेका अध्यक्ष दाहालले मुलुक नयाँ राजनीतिकरुपमा अगाडि बढेको सन्दर्भमा गठबन्धनको मागको सकारात्मक वार्ताबाट समाधान खोजिने बताए ।

उनले भने–‘नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सम्झौताको बुँदा नम्बर–१ मा नै गठबन्धनको मागलाई सम्बोधन गरेका छौं, सकारात्मक ढंगले वार्ता अगाडि बढाएर राजनीतिक समाधान खोजिन्छ ।’ रासस