
सर्लाही, वैशाख १४ । उखु बिक्री गरेको रकम भुक्तानी नगरी चिनी उद्योग बन्द भएपछि सर्लाहीका किसान निराश भएका छन् ।
वैशाख ३ गतेदेखि अन्नपूर्ण चिनी उद्योग, वैशाख ६ गतेदेखि महालक्ष्मी चिनी उद्योग यो वर्षको उखु क्रसिङ सकेर बन्द भएका छन् । अन्नपूर्ण उद्योगले ९ लाख ७ हजार ६९२ क्वीन्टल र महालक्ष्मीले ११ लाख २७ हजार ३९५ क्वीन्टल उखु क्रसिङ गरेका छन् ।
यी दुवै उद्योगले यसवर्ष किसानलाई एक रुपैयाँ पनि भुक्तानी दिएका छैनन् । क्रसिङ सिजन बन्द गर्न अन्तिम सूचना निकालेको इन्दुशंकर चिनी उद्योग हरिवनले हालसम्म ३४ लाख ७० हजार क्वीन्टल उखु क्रसिङ गरेको छ । यो उद्योगले पनि उखु क्रसिङ बन्द गर्ने तयारी गरेको छ ।
माघको पहिलो सातादेखि उखु क्रसिङ सुरु गरेको इन्दुशंकर उद्योगले किसानलाई माघ महिनाभरीको झन्डै ४५ करोड ८ लाख रुपैयाँ भुक्तानी दिएको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए ।
चिनी उद्योगी र किसानका प्रतिनिधिबीच उद्योग चल्नुअघि गत पुस अन्तिम साता महोत्तरीको बर्दिबासमा भएको वार्तामा उखु क्रसिङ सुरु गरेको ३० देखि ४५ दिनभित्र किसानको रकम भुक्तानी गर्ने सहमति भएको थियो । तर, अन्नपूर्णले गत वर्षदेखिकै भुक्तानी रोकेको छ भने उखु क्रसिङ सकेर उद्योग बन्द हुँदासमेत किसानले भुक्तानी नपाएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्