
काठमाडौं, साउन २ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहित उनको पक्षमा रहेका केही नेताले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् ।
सरकार गठनजस्तो महत्वपूर्ण विषयमा निर्णय लिनुपर्ने भएकाले केन्द्रीय समितिको बैठक बोलाउन पौडेल पक्षका नेताले माग गरेका हुन् । वरिष्ठ नेता पौडेलको नेतृत्वमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा. रामशरण महत सभापति देउवालाई भेट्न बुढानीलकण्ठस्थित निवासमा पुगेका थिए ।
उनीहरुले केन्द्रीय समितिमा आवश्यक परामर्श गरेरमात्र पार्टीका महत्वपूर्ण निर्णय लिन सभापति देउवाको ध्यानाकर्षण गराएका थिए ।
सबै पक्षको परामर्श लिएर पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिन र विभागहरु गठन गर्न सभापति देउवालाई सुझाव दिएको नेता पौडेलले जानकारी दिए ।
देउवासँगको भेटमा वर्तमान सरकारविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्तावलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको र सभापतिले यही ४÷५ गतेसम्ममा केन्द्रीय समिति बैठक बोलाउँछु भनेको नेता पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्