
काठमाडौं, साउन ३ । वर्तमान सरकारविरुद्ध कांग्रेस–माअोवादीले अविश्वास प्रस्ताव दर्ता गरेपछिको विकसित राजनीतिक घटनाका बारेमा छलफल गर्न मधेसी मोर्चासहित संघिय गठबन्धन आवद्ध दलहरु बैठकमा जुटेका छन् ।
काठमाडौंमा जारी बैठकमा गठबन्धनले नयाँ गठबन्धनलाई कुन आधार र शर्तमा सघाउने भन्नेबारे निर्णय लिइने बताइएको छ ।
आइतबारको बैठकमा भने नेताहरुले मोर्चा गरेको आन्दोलनको समीक्षा गरेका थिए । गठबन्धनमा आवद्ध दलबीचको सम्बन्धलाई कसरी हार्दिक बनाउने भन्नेमा पनि नेताहरुले जोड दिएका छन् ।
संविधान निर्माणका क्रममा आफ्ना माग नपरेको भन्दै लामो समय आन्दोलनमा रहेको गठबन्धनमा ओली सरकारविरुद्ध अविश्वासको प्रस्तावमा भने सघाउने जनाइसकेको छ ।
तर नयाँ सरकारमा जाने नजाने भन्नेमा भने निर्णय भइसकेको छैन । जारी बैठकले यसबारे निर्णय गर्न सक्ने बताइएको छ ।
यता नेकपा माओवादी केन्द्रको बैठक पनि काठमाडौंमा जारी छ । आजदेखि बसेको बैठकमा सरकार परिवर्तनका सम्बन्धमा अध्यक्ष प्रचण्डले लिएको निर्णयप्रति पार्टी नेताहरुले आलोचना गरेका थिए ।
नेताहरुको टिप्पणी सुनेपछि अध्यक्ष प्रचण्डले कमीकमजोरी भएमा आगामी दिनमा सच्याउने भन्दै नयाँ सरकार निर्माणका सम्बन्धमा सबै एक भएर लाग्नु पर्ने बताएका थिए ।
आगामी दिनमा संस्थागत निर्णय गरेर अघि बढ्ने भन्दै प्रचण्डले असन्तुष्टि राख्ने नेताहरु नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी, शक्ति बस्नेतलगायतलाई सम्झाउनुभएको एक नेताले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्