
काठमाडौं, साउन ३ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा सोमबार बसेको गठबन्धनको बैठकले अविश्वासको प्रस्ताव पारित गर्न सहयोग गर्ने निर्णय गरेको हो ।
यद्यपि, गठबन्धनले तत्काल सरकारमा जाने वा नजानेबारे कुनै निर्णय गर्न सकेन ।
गठबन्धनले उठाउँदै आएको २६ बुँदे मागका विषयमा कांग्रेस–माओवादी गठबन्धनले लिखित सहमतिको प्रतिबद्धता जनाएको खन्डमा गठबन्धन सरकारमा सहभागी हुने मोर्चाले संकेत भने दिएको छ ।
करिब दुई महिने राजधानीकेन्द्रित आन्दोलन सकेको गठबन्धनले दोस्रो चरणमा साउन ५ देखि भदौ २८ गतेसम्मको नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
राजधानी काठमाडौंसहित देशका विभिन्न १० स्थानमा बुद्धिजीवी तथा राजनीतिक दलका नेतालगायतसँग बृहत् अन्तरक्रिया गरिने गठबन्धनको एकघटक सद्भावना पार्टीका महासचिव मनीस सुमनले राससलाई जानकारी दिए ।
गठबन्धनको घोषित कार्यक्रमअनुसार काठमाडौंमा साउन ५, धनगढीमा १७, घोराहीमा २२, बुटवलमा २५, हेटौंडामा ३२, चन्द्रनिगाहपुरमा भदौ ४, बर्दिवासमा ११, इटहरीमा १७, बिर्तामोडमा २२ र विराटनगरमा २८ गते अन्तरक्रियात्मक कार्यक्रम हुनेछन् । रासस
प्रतिक्रिया दिनुहोस्