Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


दलहरु विभाजित हुनु राम्रो होइन : सभामुख


0
Shares

                                                                 फाइल फोटो
काठमाडौं, साउन ४ । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्ने बेलामा सरकार निर्माण गर्ने विषयमा दलहरु विभाजित हुनु देश र जनताका लागि दुर्भाग्य भएको टिप्पणी गरेकी छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा मंगलबार राजधानीमा आयोजित खोपसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै सभामुख घर्तीले भनिन्–‘जनता दलहरु एकजुट भइ संविधान कार्यान्वयन भएको देख्न चाहन्छन्, गणतन्त्र स्थापना र संविधान निर्माणमा एकजुट भएका दलहरु विभाजित हुनु राम्रो होइन ।’

दलहरु मिलेर सकेसम्म सहमतिको सरकार निर्माण गर्नु राम्रो हुने सुझाव उनले दिइन् ।

‘अहिले पनि बालबालिकाले सिटामोल र जीवनजल खान नपाएर अकालमा ज्यान गुमाउने अवस्था विद्यमान नै छ । राजनीतिक परिवर्तन भयो, आर्थिक र सामाजिक परिवर्तन साथमा जान सकेन’–उनले भनिन् ।

सभामुख घर्तीले समयमै सबै बालबालिकलाई पुग्ने खोप खरिद गर्न र नेपाललाई पूर्ण खोपयुक्त बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

पूर्णखोपयुक्त घोषणा गरिने अभियान
सो अवसरमा स्वास्थ्यमन्त्री रामजनम चौधरीले मन्त्रालयले खोप कार्यक्रमलाई उच्च प्राथमिता दिँदै आएको र आगामी दिनमा खोपका प्रकार बढाउँदै जाने तथा सबै बालबालिकालाई आवश्यक मात्रामा खोप लगाउने र नेपाललाई पूर्णखोपयुक्त घोषणा गरिने अभियानमा सरकार लागेको जानकारी दिए ।

व्यवस्थापिका–संसद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिका सभापति रञ्जुकुमारी झाले खोप कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित बनाउन खोप ऐन पारित गरी विनियमावली निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिइन् ।

मन्त्रालयका नवनियुक्त सचिव डा. सेनेन्द्र उप्रेतीले सबै बालबालिकालाई खोपको पहुँच पुर्‍याउन मन्त्रालयले प्राथमिकता दिएको बताए ।

बालस्वास्थ्य महाशाखाका प्रमुख डा. राजेन्द्र पन्तले हाल नेपालमा ९० प्रतिशतभन्दा माथि खोप व्यवस्था रहेको बताए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. नेहाल सिंह, युनिसेफ नेपालका प्रतिनिधि तामो होजुमी, रोटरी क्लबका प्रतिनिधि जया शाह, अर्थ मन्त्रालयका सहसचिव लोकदर्शन रेग्मी, विश्व बैंकका प्रतिनिधि डा. मानव भट्टराई र सविन भ्याक्सिन संस्थाका प्रतिनिधि डा. जोन अन्डुसरले खोपको व्यवस्थापनकाबारेमा प्रकाश पारेका थिए ।

तीनदिने सो गोष्ठीमा नेपालसहित केन्या, सेनेगल, युगान्डा, मंगोलिया लगायत २२ देशका विधायिका र स्वास्थ्य मन्त्रालयका उच्चपदस्थ कर्मचारीको सहभागिता छ । गोष्ठीमा खोपका अनुभव आदानप्रदान समेत गरिने छ ।

हाल मन्त्रालयले जन्मेदेखि २३ महिनासम्मका बालबालिकालाई ११ प्रकारका खोप निःशुल्करुपमा लगाउँदै आएको छ ।

यी खोपका लागि सविन भ्याक्सिन संस्थाले सरकारलाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । रासस