२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


रामचन्द्र पौडेलले गरे ‘निकास’का लागि यस्तो प्रस्ताव, जुट्ला त यसमा सहमति ? (भिडियो)


0
Shares

काठमाडौं, साउन ६ । सत्तारुढ दल नेकपा एमालेले संसदमा विचाराधीन अवस्थामा रहेको आर्थिकलगायतका तीन विधेयकबारे टुंगो नलागेसम्म अविश्वास प्रस्ताव उपर छलफल हुन नदिने अडान राखेपछि विहीबारको व्यवस्थापिका–संसद बैठक बस्दै नबसी स्थगित भएको छ ।

सहमतिको प्रयासस्वरुप सभामुख ओनसरी घर्तीसहित दलहरुबीच विहीबार पटक–पटक छलफल भएको थियो ।

सभामुख घर्तीले विहीबार अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूची राख्दै बैठक बिहान ११ बजेका लागि बोलाएकी थिइन् ।

तर, दलहरुबीच सहमति जुट्न नसकेपछि दुई–दुईपटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।

विहीबार संसद भवन नयाँबानेश्वरमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा विपक्षी नेपाली कांग्रेसले आर्थिक विधेयक, अविश्वासको प्रस्ताव, प्रधानमन्त्रीको राजीनामा र नयाँ सरकार गठनको विषयमा प्याकेजमै सहमति गरेर संविधान कार्यन्वयनको बाटोलाई सजिलो बनाउन प्रस्ताव गरेको थियो ।

बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक विधेयक पारित गर्ने, प्रधानमन्त्रीले राजीनामा दिने, अविश्वास प्रस्ताव फिर्ता लिने र बहुमत जुटाउनसक्ने दलले सहजरुपमा सरकार गठन गर्ने प्रस्ताव गरेका थिए ।

सो प्रस्तावमाथि दलहरुले आन्तरिक छलफल गरेर शुक्रबार फेरि शीर्ष तहको बैठक गर्ने सहमति भएको पौडेलले बताए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता पौडेलको प्रस्तावमा थप छलफल आवश्यक हुने बताएको नेताहरुले जानकारी दिएका छन् ।

संसदको बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।

भिडियो हेर्नुहोस्