२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


प्रधानमन्त्रीले पदमा बसिरहन सुहाउँदैन : कर्ण, मधेसी नेताले संसदमा के भने ?


0
Shares

                                                                               फाइल फोटो
काठमाडौं, साउन ८ । तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले आफूहरुले नेपालको संविधानको समग्र स्वरुपको विरोध गरेको नभइ संविधानमा रहेको विभेदकारी धारालाईमात्र अस्वीकार गरेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सदनमा प्रस्तुत् भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा शनिबार भाग लिँदै उनले राष्ट्रिय समस्याकारुपमा रहेको मधेसका विषयलाई लिएर आफूहरुले निरन्तररुपमा आन्दोलन गरेपनि सरकारले बेवास्ता गरेको आरोप लगाए ।

‘प्रधानमन्त्री पदमुक्त हुने तर कुर्सी चाहिँ छाड्नु नपर्ने कस्तो संविधान निर्माण भएको ?’ भनी प्रश्न गर्दै नेता शुक्लले आफूहरुले उनको विपक्षमा मतदान गर्ने बताए ।

सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले ‘३४२ जनाको समर्थन प्राप्त गरेकामा ८२ जनाले समर्थन फिर्ता लिइसकेपछि वर्तमान प्रधानमन्त्रीले पदमा बसिरहन सुहाउने कुरा होइन’–भने ।

‘नेकपा माओवादी केन्द्रले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका लागि निकै ठूलो योगदान दिएकाले उसको पहलमा मुलुकको सबैभन्दा ठूलो र पुरानो पार्टी नेपाली कांग्रेसलाईसमेत विश्वासमा लिएर मधेस आन्दोलनलाई सम्बोधन गर्ने प्रतिबद्धताकासाथ ल्याइएको प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावका पक्षमा’ आफूहरु रहने उनले बताए ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विदेशीले नेपालमाथि हस्तक्षेप र प्रभुत्व जमाउने उद्देश्यकासाथ नेपाली नेतालाई अल्मल्याउनमात्र अविश्वासको प्रस्ताव ल्याउन लगाएको आरोप लगाए ।

नेकपा संयुक्तका जयदेव जोशीले प्रधानमन्त्रीबाट भएको हलुका आवश्वासन र सामाजिक सद्भाव कायम गर्ने मामिलामा देखिएको अवरोध तथा भूकम्पपछिको पुनःनिर्माणमा देखिएको राजनीतिकरणले अविश्वासको प्रस्ताव ल्याउने वातावरण सिर्जना गरेको टिप्पणी गरे । बैठक जारी छ । रासस