Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


आरोप–प्रत्यारोपदेखि दौरासुरुवालसम्मका कुरा उठ्यो संसदमा


0
Shares

काठमाडौं, साउन ९ । व्यवस्थापिका–संसदमा सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले आ–आफ्नो पक्षको बचाउ गरेका छन् ।

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का जितेन्द्रनारायण देवले नयाँ सरकार बन्नै सक्दैन भन्ने अतिवादी सोचबाट ग्रस्त भएर संविधानको अपव्याख्या नगर्न सत्ता पक्षका सांसदहरुलाई आग्रह गरे । उनले आफ्नो पार्टीले वर्तमान प्रधानमन्त्रीविरुद्ध सदनमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै शनिबार नै सरकारबाट फिर्ता भएको प्रष्ट पारे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले संविधानअनुसार नै नयाँ सरकार गठन हुने स्पष्ट मार्ग रहेको दाबी गर्दै आफ्नो पार्टीले अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको बताए ।

सांसद कलसादेवी महराले लोकप्रियताको शिखरमा पुगेको सरकारलाई जबर्जस्ती ढाल्न लागिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् भने सांसद हरिचरण साह, रामकुमार राई, कुमार खड्का, रुक्मिणी चौधरी, चन्द्रेश्वर झा र नगेन्द्र कुमालले आदिवासी, जनजाति तथा अल्पसङ्ख्यक समुदायको भावनाविरुद्ध ओली सरकारले गतिविधि गरेको भन्दै आफूहरुले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताए ।

नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले सरकारको नेतृत्वकर्ता दलभित्रै समेत सहमति नगर्ने, गुटगत मानसिकताका आधारमा अगाडि बढ्ने, सरकारमा सहभागी भएका दललाई विश्वासमा नलिने प्रवृत्ति मौलाएका कारण आफ्नै बोझले ओली नेतृत्वको सरकार ढल्न लागेको बताए ।

बृहत् राष्ट्रिय एकता र सहमतिका आधारमा मुलुकमा अगाडि बढाउने लक्ष्यका साथ सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको उनले प्रष्ट पारे । संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि नयाँ सरकार गठन नै हुन नसक्ने भन्ने एमालेका नेताको धारणा संविधानको भावना विपरीत रहेको उनको भनाइ थियो ।

नेकपा एमालेका युवराज ज्ञवालीले व्यवस्थापिका–संसदमा राष्ट्रिय महत्वका सवालमा छलफल हुनुपर्नेमा अविश्वासको प्रस्तावमाथि छलफल हुनु दुःखद रहेको बताए ।

सरकारमा सहभागी भएकै दलबाट अविश्वासको प्रस्ताव आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै उनले आफैँ सहभागी सरकारका नीति तथा कार्यक्रम र बजेटमाथि नै अविश्वास राखिनु गलत रहेको बताए ।

एमाले प्रतिपक्षमा बस्न तयार रहेको प्रष्ट पार्दै उनले मुलुकका सामु रहेका समस्या समाधान गर्न सबै दलको सहमति जरुरी रहेको बताए ।

एमालेका लालबाबु यादवले दौरासुरुवाल नेपाली पोसाक भएकाले त्यसको अपमान नगर्न आग्रह गर्दै नेपालको राष्ट्रियताको जर्गेना गर्नुपर्नेमा जोड दिए । अमेरिकन कोट र बेलायती पाइन्ट लगाएर नेपाली पोसाकको विरोध गर्न नमिल्ने उनको तर्क थियो । (रासस)