
काठमाडौं, साउन १० । नेपाली क्रिकेटको विवादबारे अध्ययन गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पाँच सदस्यीय टोली नेपाल आउँदैछ ।
टोलीका तीन सदस्य सोमबार काठमाडौं आईपुग्नेछन् भने दुई सदस्य मंगलबारमात्रै आउनेछन् ।
टोलीमा आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचार्डशन, कानुनी अधिकारी पल म्याक्माहन, डेभलपमेन्ट अफिसर अमर शेख, कन्सल्टेन्ट बन्दला वार्नापुरा र एसोसिएट प्रतिनिधि ईमरान ख्वाजा रहेका छन् ।
यीमध्ये शेख, ख्वाजा र वार्नापुरा सोमबार आईपुग्नेछन् । टोलीले नेपाली क्रिकेटमा सबै विवादित पक्षहरुसँग छलफल गर्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछिको अवस्थाबारे अध्ययन गर्न आईसीसीको टोली नेपाल आउन लागेको हो । चार दिने नेपाल बसाईका क्रममा आईसीसी टोलीले विवादित दुईवटा क्रिकेट संघका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद, नेपाल सरकारका प्रतिनिधि र सम्भव भएसम्म प्रधानमन्त्री केपी ओलीलाई समेत भेट्ने योजना बनाएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्