१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


भारतीय अखबारको निष्कर्ष– ओलीको राजीनामा भारतका लागि फाइदा


0
Shares

काठमाडौं, साउन १० । भारतको एक प्रमुख अखबार ‘दैनिक जागरण’ले प्रधानमन्त्री केपी ओलीको राजीनामा भारतका लागि फाइदाजनक हुने ठहर गरेको छ ।

सो अखबारको अनलाइन संस्करणमा नेपालको राजनीतिक अवस्था र ओलीको राजीनामाबारे विस्तृत टिप्पणी गर्दै यस्तो निष्कर्ष निकालिएको हो ।

समाचारमा भनिएको छ, ‘ओलीले राजीनामा दिनुअघि अविश्वास प्रस्ताव देशलाई प्रयोगशालामा परिणत गर्ने र नयाँ संविधान लागू गर्ने दिशामा अवरोध सिर्जना गर्ने विदेशी शक्तिको षड्यन्त्र संज्ञा दिए ।’

नेपालमा विद्यमान राजनीतिक संकट भारतका लागि फाइदाजनक रहेको भारतीय विदेश नीतिका जानकारको बुझाइ रहेको पनि उक्त समाचारमा उल्लेख छ । उसको तर्क छ, ‘नेपालको कुल जनसंख्याको ५१ प्रतिशत हिस्सेदारी ओगटेका मधेसी समुदायको मुद्दालाई ओलीले सही ढंगले समाधान गर्न सकेनन् ।’

भूकम्प प्रभावित क्षेत्रका समुदायको मुद्दालाई पनि सही ढंगले समाधान गर्न नसकेको र ओलीको अतिराष्ट्रवादको संकल्पनाले एक यस्तो धारणा पेश गरियो कि उनले आफूलाई चीनको निकट र भारतको विरोधी शक्तिका रुपमा पेश गरेको विश्लेषण पनि सो समाचारमा गरिएको छ ।

‘जानकारहरुका अनुसार मधेस आन्दोलनको समयमा भारतमाथि जानाजान मधेसीहरुलाई समर्थन गरेको आरोप लगाइयो,’ दैनिक जागरणको अनलाइन संस्करणमा भनिएको छ, ‘तर लामो अन्तरालपछि नेपालका अन्य पार्टीहरुले बुझ्न थाले कि यस प्रकारको समस्याका लागि भारतको तुलनामा कयौं गुणा बढी जिम्मेवार ओली स्वयं थिए ।’

यदि नेपालको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हातमा आएमा भारत र नेपाल सम्बन्ध सुदृढ हुने ठहर पनि सो समाचारमा गरिएको छ ।

अर्को भारतीय अखबार नवभारत टाइम्सले पनि आफ्नो अनलाइन संस्करणमा नेपालको राजनीतिक परिवर्तनबारे भारतीय कोणबाट विश्लेषण गर्दै भनेको छ, ‘चीनले असामान्य रुपमा नेपालको राजनीतिमा भारतविरोधी व्यूह फैलायो । चीनले नेपालको बामपन्थी पार्टीहरुलाई जोड्ने कोसिस पनि ग¥यो । गत मे महिनामा प्रचण्डको मानसिकता परिवर्तन गर्ने सफलता पनि पायो ।’

भारतका लागि नेपाललाई अर्को पाकिस्तान बनाउने चीनको भरपुर प्रयास हुँदै आएको सो अखबारको ठहर छ । तर पछिल्लो समय भएको राजनीतिक परिवर्तनले चीनको त्यो स्वार्थमा धक्का लागेको र भारतको स्वार्थ हावी हुने संकेत पनि उसले गरेको छ ।