
काठमाडौं, साउन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा नयाँ सरकार गठनका लागि संविधानको धारा ३ सय ५ अनुसार आजै बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने तयारी गरेकी छिन् ।
लगत्तै राष्ट्रपति भण्डारीले संविधानको धारा २ सय ९८ को उपधारा २ बमोजिम सहमतीय सरकार गठनका लागि आह्वान गर्ने तयारी पनि गर्नुभएको निकट स्रोतले जनाएको छ ।
राष्ट्रपतिले बाधा अड्काउ फुकाउ आदेश जारी गरेपछि बस्ने संसदको पहिलो बैठकले त्यस्तो आदेश अनुमोदन गर्ने व्यवस्था संविधानको धारा ३ सय ५ मा उल्लेख छ ।
बाधा अड्काउ फुकाउ आदेश जारी गरेपछि नयाँ सरकार गठन गर्न बाटो खुल्ने भएकाले राष्ट्रपति भण्डारीले सहमतीय सरकार गठनको लागि आह्वान गर्ने तयारी गर्नुभएको स्रोतले जनाएको छ ।
बाधा अड्काउ फुकाउ आदेशको अनुमोदनका लागि भने मंगलबार बस्ने संसद बैठकबाट प्रक्रिया अघि बढाइनेछ ।
सहमतीय सरकारका लागि दिइने समयभित्र राष्ट्रिय सहमतिको सरकार बन्न नसके संविधानको धारा २९८ को उपधारा ३ अनुसार राष्ट्रपतिले फेरी संसदमा बहुमतीय सरकार गठनका लागि आह्वान गर्नु पर्नेछ ।
राष्ट्रपतिबाट त्यस्तो आह्वान भए सँगै सभामुखले संसद नियमावली अनुसार प्रधानमन्त्री निर्वाचनको कार्यतालिका प्रकाशन गरी मिति र समय तोक्ने व्यवस्था छ । यसरी सहमतीय सरकारका लागि आजै आह्वान भएमा अबको १० दिनभित्र मुलुकले नयाँ सरकार पाउनेछ ।
प्रतिक्रिया दिनुहोस्